फुलबारी टोल विकास समितिले ग¥यो वृक्षारोपण
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ मा रहेको फुलबारी टोल विकास समिति इत्रामको आयोजना र नयाँ सबुजदल गणको समन्वयमा मंगलबार वृक्षारोपण गरिएको छ । कपासे ब्यारेकदेखि पुरानो बुढी पिपलसम्म १०० वटा गुलमोहरका बोट र फुलका विरुवाहरु रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष धु्रबकुमार चपाइँले भन्नुभयो, ‘हामी वृक्षारोपण त गर्छौ तर ती विरुवाहरु हुर्के वा हुर्केनन् भनेर अनुगमन नै गर्दैनौं । त्यसैले वृक्षारोपण गरेका विरुवाहरु कोही हुर्कन्छन् कोही हुर्कदैनन् । जसले गर्दा हामीले गरेको कार्य पूर्ण सफल हुन सक्दैन । अब टोल विकासका प्रत्येक वासिन्दाले वृक्षारोपण गरेका विरुवाहरु हुर्काउने जिम्मा लिनु पर्छ । त्यसलाई छाडा वस्तुभाउबाट जोगाइदिने हो भने मात्र पनि विरुवा जोगिन्छ ।’ विरुवा हुर्काउनु भनेको आफ्नै वातावरण र आफ्नो स्वास्थ्यको लागि काम गरिरहेको छु भन्ने ठानिदिन सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।

यसैगरि वृक्षारोपण कार्यक्रममा सहभागी हुनुभएका नयाँ सबुजदल गणका सेनानी हुपेन्द्र रेग्मीले भन्नुभयो, ‘जसरी एउटा मान्छे हुर्काउनका लागि मिहिनेत गरिन्छ त्यसरी नै विरुवा हुर्काउनका लागि पनि हामीले मिहिनेत गर्नुपर्छ । अनि मात्र वृक्षारोपणले सार्थकता प्राप्त गर्छ ।’
वृक्षारोपण कार्यक्रममा नेकपाका ७ नम्बर वडा कमिटी अध्यक्ष टोप बहादुर बस्नेतले भन्नुभयो, ‘वडा भित्र भएका सबै टोलले वृक्षारोपण पनि गर्ने र रोपिएका विरुवाहरुलाई जोगाउने अभियान सञ्चालन गर्नु पर्दछ ।’ प्रकृतिलाई जोगाउन सक्ने हो भने मात्र मानव जीवनको रक्षा हुने बताउँदै वीरेन्द्रनगरलाई साँच्चिकै हरित शहर र सुन्दर शहर निर्माण गर्ने हो भने विरुवाको संरक्षण नै पहिलो कर्तव्य ठान्न आवश्यक रहेको उहाँको भनाई थियो ।
वृक्षारोपण कार्यक्रममा नेकपाका ७ नम्बर वडा कमिटी अध्यक्ष टोप बहादुर बस्नेत, जेष्ठ नागरिक समाज वीरेन्द्रनगर नगरपालिका ७ का अध्यक्ष डम्बर बहादुर बस्नेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष ध्रुब कुमार चपाइ, स्त्रीरोग विशेषज्ञ डा. केशर ढकाल, नयाँ सबुजदलका सेनानी हुपेन्द्र रेग्मी र सेनानी गोपाल श्रेष्ठ तथा फुलबारी टोल विकास समिति अध्यक्ष टीका बस्नेतलगायत समितिका पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो ।







