Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

हवाई उडान भदौदेखि

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लामो समयदेखि बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ देखि हुने भएको छ । हवाई उडानका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुलाउने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि सरकारले चार्टर उडान बाहेकका सबै हवाई मार्गका सेवाहरु बन्द गरेको थियोे । कोरोना कहरका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए पनि विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारमा भने चार्टर विमान प्रयोग गरिदै आएको छ । त्यस बाहेक कुनै पनि प्रकारका हवाई उडान हालसम्म भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले यस अगाडि साउन २१ गतदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको थियोे ।

सोही सिफारिसको आधारमा दुवै खाले उडानको सञ्चालन आगामी भदौ १गतेदेखि गर्ने निधो अस्ति सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । अब विमानस्थल खुलाउनु अघि सुरक्षा सम्बन्धी मापदण्ड, प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको छ । कोरोनाबाट बच्रुन एक व्यक्तिबाट अर्को व्यक्तिको दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्ने लगायतका व्यवस्था गरिएको प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले तयार गरेको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न नपाउने भएको छ । व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेर आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्नका लागि मन्त्रिपरिषदमा यस अघि सिफारिस गरिएको थियोे।