Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

ढुंगाले च्यापिएर ३२ वर्षीय रेशमबहादुर विष्टको मृत्यु

दैलेख ।

जंगली जनावर दुम्सी खोज्न दुलोमा पसेका एक व्यक्तिको ढुंगाले च्यापिएर मृत्यु भएको छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको बिहिवार मृत्यु भएको छ।

विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी दुलोभित्र पसेको बेला माथिबाट खसेको ढुङ्गाले च्यापिएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्किएर ज्यान जोगाएको थिए ।
दुलोभित्रै च्यापिएको डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमको लागि दैलेख जिल्ला अस्पताल पठाइएको छ ।
मृतक रेशमबहादुर विष्ट नौमूले गाउँपालिका ७ को पैतीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आएका थिए।