Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

२८ जनामा कोरोना देखिएपछी अत्यावश्यक बाहेक सबै सेवा बन्द

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । कर्णालीका १० जिल्ला मध्य सबै भन्दा बढि कोेरोना संक्रमित भएको जिल्लाको रुपमा चिनिएको दैलेखमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाल सरकारले लकडाउन खोलेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।


आइतबार मात्रै दैलेख नारायण नगरपालिकाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार आएको रिपोर्टमा कर्णाली प्रदेशमा ३१ जनामा संक्रमण देखिएको छ । जसमध्य २८ जना दैलेखका रहेका छन् । यसैगरि २ जना सल्यानका र १ जना सुर्खेतका संक्रमित देखिएका छन् ।

कोरोना भाइरस संक्रमण फैलिने अत्याधिक सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सेवाबाहेक सबै सरकारी सेवा बन्द गर्न पत्राचार गरेको छ । कार्यालयले जिल्लाका ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

सरकारले लकडाउन गरेपश्चात भारतबाट १५ हजार ४८ जना नागरिक दैलेख जिल्लामा भित्रिएका छन् । सरकारले साउन ५ गतेको निर्णय अनुसार लकडाउन स्थगित गरिएको भए पनि कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना उत्तिकै छ ।


सरकारी कार्यालयका कर्मचारीहरुलाई समेत संक्रमण देखिन थालेपछि प्रशासनले अर्को पत्राचार नहुँदासम्म अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गर्न ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको जनाएको छ ।