जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु
पर्सा ।
वीरगञ्जमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको हो । जगदम्बाका सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । उनी मुटु रोगी थिए ।
मजदुर लगायत प्रमुख कार्यकारी अधिकृतमा कोरोना भेटिएपछि साउन १३ गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको थियो ।
बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ ।
यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।






