Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

उपसचिव प्रेम सञ्‍जेललाई कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं |

श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन्। शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि दुई जना महिला कर्मचारीले हातपात गरेका थिए। करारमा काम गर्दै आइरहेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई सञ्‍जेलले बर्खास्त गरेका हुन्। उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै सञ्‍जेलमाथि कुटपिट गरेका थिए ।

करारका कर्मचारी उनीहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्। आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करारका दुई महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्। बर्खास्त भएका यी दुई कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान गरिरहेको छ।

घटनामा मिलापत्र गर्न सञ्‍जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको छ। शनिबार साँझ दुवै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो। सञ्जेलले  आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारवाही हुनुपर्ने अडान सञ्‍जेलले राखेपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो। मोरङ प्रहरीका प्रमुख एसपी खड्काले पक्राउ परेका दुवैलाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको बताए।

सञ्‍जेललाई कुटपिट गर्ने दुवै महिला कर्मचारी करारमा नियुक्त कार्यालय सहयोगी थिए। सहन नसक्ने गरि सञ्‍जेलले अपशब्द बोलेर दुर्व्यवहार गरेको, धेरै काममा लगाउने र जिम्मा नभएको सामानको सुरक्षामाथि प्रश्‍न उठाएको आरोपसहित उनीहरुले कुटपिट गरेका थिए।

उनीहरूले सञ्‍जेललाई पेपरवेट, सञ्‍जेलकै नेम प्लेट र पञ्‍चिङ मेशिनले हानेका थिए। दुई महिलाको कुटपिटबाट सञ्‍जेलको निधार, ओठ र हातमा चोट लागेको थियो। यता कुटिएका सञ्‍जेलले भ्रष्ट र कमिसनखोरको निर्देशनमा ती महिलाले आक्रमण गरेको दाबी गरेका छन्।