Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

थप ४१८ जना सङ्क्रमित

काठमाडौँ |

कोरोनाभाइरस सङ्क्रमणबाट देशभरि थप ४१८ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जानकारी दिएको छ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २०,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए। सोमवारको दैनिक सङ्क्रमण एक महिनाको अवधिमा सबैभन्दा ठूलो हो। यसअघि जुलाई २ मा सर्वाधिक ७४० जना सङ्क्रमित थपिएका थिए। विगत २४ घण्टामा ३५८ जना निको भएसँगै अहिलेसम्म १४,९६१ जना सङ्क्रमित भाइरसमुक्त भएका छन्।

काठमाण्ठूमा ५१ थपिए

सोमवार काठमाण्डू उपत्यकामा ५१ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये काठमाण्डूमा ४३ जना, भक्तपुरमा पाँच जना र ललितपुरमा तीन जना भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,७३२ छ। तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २,३५७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १,५४९ जना रहेका छन्। त्यस्तै प्रदेश नं १ मा २९०, वागमती प्रदेशमा ६५१, गण्डकी २७५, प्रदेश नं ५ मा ३१५ र कर्णाली प्रदेशमा २९८ जना रहेका छन्।