सत्तारुढ नेकपाको कार्यदल अनुमोदन
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।
पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदललाई सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति अनुसार पार्टी भित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।
तर बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रबक्ता नारायणकाजी श्रेष्ठले दुइ जना अध्यक्षको चोचोमोचो मिलाएर गठन गरेको कार्यदललाई औपचारिक रुपमा पार्टीको सचिवालय बैठक बसेर अनुमोदन गरेमात्र मान्य हुने बताएपछि सचिवालय बैठक बसेर अनुमोदन गरेको हो ।
गत शुक्रबार अध्यक्षद्वय अोली र प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६सदस्यीय कार्यदल गठन गरेका थिए ।प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको पुष्टि गरे ।
‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको बैठकले कार्यदल गठनलाई अनुमोदन गरेको छ’, उनले भने, ‘कार्यदलले आज पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिन्छ ।’
त्यस्तै उनले पार्टीभित्रको विवाद समाधान गरेर महाधिवेशनमा जाने पक्षमा आफुहरु रहेको बताए ।‘कार्यदलको सुझावपछि अघि बढ्छौँ । त्यसबारेमा छलफल हुन्छ । नीति र पद्धतिको विषयमा अघि बढ्ने बारे छलफल भएको छ ।’
त्यस्तै उनले मन्त्रीपरिषद् र मुख्यमन्त्री हेरफेरको बिषयमा छलफल नभएको जानकारी दिए । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।







