प्रदेश सरकारबाट आवश्यक राहतको व्यवस्था हुन्छः मन्त्री ज्वाला
सुर्खेत ।
सल्यानमा आएको बाढि तथा पहिरोले विनाश गरेका क्षेत्रमा प्रदेश सरकारबाट यथासक्य राहतको व्यवस्था हुने जनाइएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक विज्ञप्तिमा मार्फत यस्तो जनाएका हुन् ।

उनले भनेका छन् ‘केही दिनदेखिको भीषण वर्षाका कारण सल्यान जिल्लाका विभिन्न स्थानमा ठूलो विनाश भएको छ । बन्गाड कुपिण्डे नपाको विभिन्न वडा र बन्गाड खोला आसपास, बागचौर नपा १२ बाफुखोला समेतका स्थान, छत्रेश्वरी गापा, शारदा नपा लगायत जिल्लाका विभिन्न स्थानमा जनताका घर गोठ, वस्तुभाउ, खेतबारीआदि तथा खानेपानी, सिचाई, विद्यालय भवन, सडक लगायत विकास संरचनाको ठूलो क्षति भएको कुराले हामी स्तब्ध भएका छौं ।’
यो क्षतिप्रति दुःख व्यक्त गर्दै यस बिपत्तिको धैर्यतासाथ सामना गर्न म सल्यानी जनतासँग अनुरोध गर्दछु उनले भनेका छन् । जनताबाट निर्वाचित जन प्रतिनिधिको नाताले तपाईहरुको दुःखमा हामी तपाईहरुको साथमा छौं भन्ने विश्वास दिलाउछु ज्यालाको भनाई छ ।
यस समस्यामा उद्धार, राहत र सहयोगमा जुट्न सबै जनप्रतिनिधि, स्थानीय तह, राजनीतिक दलका नेता कार्यकर्ता, राष्ट्रसेवक, ब्यबसायि, नागरिक समाज लगायत सबैसँग मन्त्री ज्वालाले अपिल समेत गरेका छन् ।
‘बाढि पहिरोबाट भएको क्षतिको उचित मुल्यांकन गरी प्रदेश सरकारबाट आवश्यक राहत, क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।






