के होला ? नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा !
काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको आन्तरिक विवाद समाधानका लागि गठित सुझाव संकलन कार्यदलले प्रतिवेदन बुझाएको छ ।
शनिबार बालुवाटारमा अध्यक्षद्धय समक्ष ६ जनानै सदस्यको उपस्थितिमा बुझाईएको प्रतिवेदनमा उपाध्यक्ष बामदेव गौतमले यस अघि दुबै अध्यक्षसमक्ष राख्नु भएको सुझावहरुकै सेरोफेरोमा सुझाव आएको स्रोतको दाबी छ ।
उच्च स्रोतका अनुसार कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा गर्नु नपर्ने गरी सहमतिको प्रस्ताव तयार पारेको बुझिएको छ । त्यसैगरी सुझाव संकलन प्रतिवेदनमा सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने गरि सुझाव आएको स्रोतले बतायो ।
तर, अध्यक्षद्वयको कार्यविभाजन, मन्त्रिपरिषद्, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिसलगायत महत्त्वपूर्ण विषयमा भने पार्टीमा छलफल भएपछि मात्रै सरकारले निर्णय लिनुपर्ने, एकता महाधिवेशनबाट अन्य कुराको समाधान खोजिनु पर्नेलगायत छन् ।
साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहनुभएको थियो ।










