प्रतिवेदन माथि छलफल गर्न नेकपा अध्यक्षद्धय बीच भेटवार्ता
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय बीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ६ सदस्यीय कार्यदलले शनिबार बुझाएको प्रतिवेदनमा छलफल गर्न सोमबार बालुवाटारमा भेटवार्ता हुन लागेको हो । समाचार स्रोतका अनुसार छलफलमा कार्यदलले पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि बुझाएको प्रतिवेदनले दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षवीच छलफल हुने छ ।
दुई अध्यक्षले बनाउनु भएको ६ सदस्यीय कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको थियो । नेकपामा चुलिएको विवाद मत्थर पार्नका लागि गठन गरिएको सुझाव संकलन कार्यदलले शनिबार बालुवाटारमा अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको थियो ।
कार्यदलले प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाती राख्ने र स्थायी कमिटीको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने, सैद्धान्तिक तथा विवादित विषयहरु महाधिवेशनबाट टुंगो लगाउने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन दाहालले गर्ने, सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने सुझाव दिएको छ ।
साथै सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टी भित्र सल्लाह गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्यदलले अध्यक्षद्वय ओली–दाहाललाई कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउने सुझाव पनि प्रतिवेदनमार्फत् दिएको छ । आज हुने दुई अध्यक्षबीचको छलफलले तत्कालै सचिवालय बैठक बोलाउन सक्ने र सरकार हेरफेरका विषयमा छलफल गर्ने नेकपा उच्च स्रोतले बतायो ।
कार्यदलले आफ्नो प्रतिवेदनमा नक्शा प्रकाशन लगायतका विषयमा सरकारको प्रशंसा गरेको छ । त्यसैगरी महाधिवेशनसम्म प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार सञ्चालन हुने तर केही मन्त्रीहरु हेरेफेर गर्ने कार्यदलको प्रस्ताव छ । प्रदेशमा पनि सरकारहरु हेरफेर गर्ने कार्यदलको प्रस्ताव छ ।
स्थानीय तहमा सरकार सञ्चालनका लागि पार्टीका तर्फबाट निर्देशिका जारीगरिनुपर्ने कार्यदलले सुझाव दिएको छ । पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहनुभएको थियो ।










