Loading... आजः ३० श्रावण २०८३, शनिबार । Saturday 15th August 2026

सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारबाहीको माग

सुर्खेत ।
नेपाल पत्रकार महासंघले सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारबाहीको माग गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा प्रकाशित सूचनामा यस्तो माग गरिएको हो ।

महासंघद्वारा जारी पत्र

मिति : २०७७।०५।१४

विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय हो । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ । महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ । साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।

प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गर्दछ । प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ । कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ।

रमेश विष्ट
महासचिव