Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कविता – मृत सहरको कथा

आर. आर. चौलागाईं

मान्छेहरू दौडिरहेका छन्
उनीहरू किन दौडिरहेका छन् ?
उनीहरूलाई नै थाहा छैन
मान्छेहरू हाँसिरहेका छन्
उनीहरू किन हाँसिरहेका छन् ?
उनीहरूलाई नै थाहा छैन
मान्छेहरू बोलिरहेका छन्
उनीहरू के बोलिरहेका छन् ?
उनीहरूलाई नै थाहा छैन
मान्छेहरू लेखिरहेका छन्
उनीहरू के लेखिरहेका छन् ?
उनीहरूलाई नै थाहा छैन
यो एउटा मृत सहरको कथा हो ।

उहिलेउहिले धेरै पहिला
यो शहरमा घना जङ्गल थियो रे
यहाँ जनावरहरूले शासन गर्थे रे
बाघ, भालु, चितुवा, स्याल, बाँदर
अनि ढेडु र अर्नाहरूको हैकम चल्थ्यो रे
पछिपछि जङ्गल मासिँदै गयो रे
पानी पनि सुक्दै गयो रे
बालुवा र ढुङ्गा थुप्रिँदै गयो रे
र जङ्गल मरुभूमिमा परिणत भयो रे
त्यसपछि बाघ, भालु, चितुवा, स्याल, बाँदर
अनि ढेडु र अर्नाहरूले पनि
मान्छेको रूप धारण गरे रे
यो एउटा मृत सहरको कथा हो ।

तपाईंहरू सेतो बाटो हिँड्नोस्
उनीहरू त्यसलाई कालो बनाएर हेर्छन्
तपाईंहरू सेतो कुरा गर्नोस्
उनीहरू त्यसलाई कालो बनाएर बुझ्छन्
तपाईंहरू सेतो कुरा लेख्नोस्
उनीहरू त्यसलाई कालो बनाएर पढ्छन्
तपाईंहरू सेतो गीत गाउनोस्
उनीहरू त्यसलाई कालो बनाएर सुन्छन्
यो एउटा मृत सहरको कथा हो ।

(हेटौँडा–४, अभिकुञ्ज) नेपाली साहित्य घरबाट