व्यङ्ग्य – घ्वाच्च घोच्यो
आयो भन्दा भन्दै दशैं गयो हजुर । दशैंमा हुनेले पनि खाए नहुनेले पनि खाए । कसैले नयाँ लुगा लाए । कसैले पुरानैमा चित्त बुझाए । कसैले ऋण दिए कसैले लिए । कसैले चपाए कसैले पचाए । कसैले पिए । कोही रिसिए कोही ऋणको भारमा पिसिए । यो दशैं सधैँ यस्तै हो । आउँछ जान्छ । कसैलाई केही दिन्छ कसैबाट केही लिन्छ । धन हुनेले सुन किन्छ नहुनेले जसरी भएपनि नुन किन्छ । केटाकेटीहरु दक्षिणा कति पाइएछ भनेर गन्छन् । बुढाबुढीहरु यति उति दिने भन्छन् । मामाको घरमा दक्षिणा थोरै भएको भन्दै यसपालीको सामाजिक सञ्जालमै ब्लक गरेको कुरा पनि आयो । यति र उति पाइयो मामाघरमा रमाइयो भनेर सामाजिक सञ्जालमै पोष्ट्याउनेहरु रहेछन् । लु खतम ।

कसैलाई कहिले दशैं सकिएला र नयाँ दौरा सुरुवाल लगाउन पाइएला भन्ने पिरलो छ । कोही दशैंमा दौरा सुरुवाल लगाउन हतारिएका थिए । कोही दशैं गएपछि लगाउन पाइएला भनेर कुरेर बसेका छन् । चटारो आ–आफ्नै पो हुन्छ त । फेरि माथिबाट अध्यक्ष ज्यूले के निर्देशन गर्नु हुने हो । त्यता पनि पिरलो छ । जहिले पनि कर्णाली पछि प¥यो भन्नेहरुले यसपाली थाह पाए होलान् । कर्णाली कति अघि बढिसकेछ भन्ने । आफ्नै दलको नेता माथि अविश्वासको प्रस्ताव ल्याउन अरु कसैले सकेकै थिएनन् ल्याए कर्णालीका माननीयहरुले । जाननीय, माननीय, ताननीय, हाननीयहरु एक भएपनि कसैको केही लागेन । राम्रो काम गरेका भएपनि नराम्रो काम गरेका भएपनि जनताले विश्वास गरेका माननीय हुन् । जता शक्ति उतै भक्ति त गर्ने नै भए । लु खतम ।
कर्णाली लामो छ ठूलो छ गहिरो छ भन्ने पनि थाह नपाउनेहरु कर्णालीमा पौडी खेल्न खोज्छन् । दौडि खेल्न खोज्छन् । पौडि खेल्न जान्नेहरु पाखा लाग्छन् । दौडि खेल्न खोज्नेहरु डुब्छन् । हिजो पनि देखेकै हो । आज पनि देखियो । बाँचियो भने भोलि पनि देखिन्छ । कर्णालीकै लहरोले उता बागमतिमा पनि बगाउने सम्भावना आयो रे । उता पनि अविश्वासको प्रस्तावको गीत गाउने सम्भावना बढेको छ रे । हिजो एकैतिर हिडेर एकता गरेकाहरु आज ए–कता ? भन्दै छन् । अनि यिनले समृद्धि ल्याउछन् कि ल्याउँदैनन् जनताले बुझ्नै सकेका छैनन् । लु खतम ।
दशैंमा जुवा खेल्नेहरुलाई च्याप्प समातेर झ्याप्प भित्र हाल्यो रे पुलिसले । अचम्म पो छ । भित्र हालेको घण्टा पुग्न नपाउँदै कुरो अर्कै भएसकेछ फेरि एउटा कागज गराएर छोडिदियो रे । सुन समात्यो भने पित्तल बनाउन सक्ने हाम्रा पुलिस पनि गज्जबका छन् । कति सजिलै कानूनको परिभाषा गर्न सकेका । सुनलाई पित्तल र खसीलाई चित्तल बनाउन माहिर देखिए । लु खतम ।
हाम्रो सरकार पनि साँच्चिकै अचम्मकै छ । कहिले भाडामा ५० प्रतिशत बढाउँछ । आधा सिटमा मात्र यात्रु राख्ने भन्छ । कहिले तोकिएको भाडा मात्र लिने भन्छ पुरै सिटमा यात्रु राख्ने भन्छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा भए कि भएनन् दैलेख खण्डमा हेर्दा मात्र पनि पुग्छ होला । बाटामा प्रहरी बसेकै हुन्छन् । चेकजाँचमा कम्मर कसेकै हुन्छन् । होइन क्या गाडिमा के भइरहेको छ भनेर चेक गर्न गाडि भित्र जानु पर्ने यात्रुसँग छड्के सोधपुछ गर्नु पर्ने होइन र भन्या । गाडिको एउटा स्टाफसँग हात मिलाउँदै गाडिको पछाडितिर के जाँच्न जान्छन् खै । पछाडि पुगेर आए भने सबै ठिक छ भन्छन् । यिनीहरुको शक्ति पनि अचम्मकै छ । पछाडिबाट हेरेर थाह पाइदिने । कुनै गाडिमा भाले गाडि लेखिएको हुन्छ कुनैमा हुँदैन । भाले हो कि पोथी हो भनेर हेर्न त गएका होइनन् यो हरिलठ्ठक अझैँ पनि अन्यौलमा पो छ । फेरि त्यो गाडिको स्टाफसँग यिनले दुरी कायम गर्नु पनि नपर्ने रहेछ । होइन यो कोरोना भन्ने पनि मान्छेलाई छानी छानी लाग्दोरहेछ कि क्या भन्ने सुनेर फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ
सुक्ष्मदृष्टिमा आज प्रकाशित व्यङ्ग्य ।






