Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

ओली, अब तिमी ओली रहेनौ

आज भन्दा झण्डै ३ वर्ष अगाडि चुनावी माहोलमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणले नेपाली जनता निकै प्रभावित भए । जसको कारण तत्कालिन एमाले र माओवादीको गठबन्धनले झण्डै दुई तिहाइ बहुमत प्राप्त गर्न सफल भयो । नेपालमा नौ–नौ महिनामा फेरिने सरकारका कारण विकास हुन नसकेको र अर्थतन्त्र समेत माथि उठ्न नसकेको बताउँदै स्थायी सरकार र पूर्ण शान्तिको नारा लगाएर ओलीले मागेको मतले देशले स्थायी सरकार पाएको नेपाली जनताले सोचेका थिए । स्थायी सरकार बन्ने गरि आफूले दिएको मत प्रति गर्व गर्ने नेपाली जनताको शिर आज नराम्रोसँग झुकेको छ ।

खगेन्द्र अधिकारी ‘अमृत’

भारतले गरेको अघोषित नाकाबन्दीका समयले ओलीले देखाएको पराक्रमले ओलीलाई नेपाली जनताले राजनेता मानेका हुन् । निर्वाचनको बेला जहाँ ओली पुगे त्यहाँ जनताको ओइरो लाग्यो । कुनै दिन आफ्नै पार्टीको बहुमतको सरकार हुँदाहुँदै संसद विघटन गरेर मध्यावधि निर्वाचनमा होमिएको काँग्रेसदेखि वाक्क भएका नेपाली जनताले आफ्नो आशा र भरोसालाई विसाउने चौतारीको रुपमा नेकपाको उदय भएको ठानेका थिए ।

नयाँ संविधान अनुसार बनेको सरकार अनि पहिलो पटकमा संघीयताको अभ्यास गरिरहेको देशको राजनीतिक अवस्थालाई केपी ओलीले सफल गन्तव्यमा पु¥याउने आशा राख्दै देशमा भौतिक विकास निर्माणसँगै आर्थिक क्रान्तिको मूल फुट्ने कुराको आशातित नेपाली जनता आज बाध्य भएर थुकको आँसु बनाएर रुनु पर्ने अवस्थाको सिर्जना भएको छ ।

आफ्नो पार्टीको बहुमतको सरकारलाई राजनीतिक खिचातानीमा लागेर सौताका रिसले पोइको काखमा ‘सु’ गरेको उखानलाई चरितार्थ गर्दै प्रतिनिधि सभा विघटन गरेर ओलीले नेपाली जनताले दिएको मतको अपमान मात्र गरेनन् अबका दिनमा ओली माथि गरिने आशा र ओलीले नेतृत्व गर्ने पार्टीले ल्याउने कुनै पनि राजनीतिक प्रतिवद्धतामाथि तिलको दाना बराबरको विश्वास गर्न नसक्ने वातावरणको सिर्जना गरे ।

राजनीतिक नियुक्ती गर्ने कुरामा सरकार संचालकहरुले आफूलाई सहज हुने ढंगबाट गर्नु स्वभाविक हो । तर त्यसका लागि पार्टी भित्र छलफल र बहस भएर योग्य र आवश्यकता अनुसार गर्नुपर्नेमा ओलीले एकलौटी रुपमा जसरी तानाशाही प्रबृति देखाए त्यसको परिणाम हो घेराबन्दीमा पर्नु । नेपाल राष्ट्र बैंकका गर्भनरलाई ल्याएर अर्थमन्त्री बनाउँदा आर्थिक रुपमा गरिनु पर्ने परिवर्तन गर्न सफल हुन्छ भनेर नेपाली जनता र राजनीतिक दल ले स्वीकार गरेकै हुन् । तर डा. खतिवडा अर्थमन्त्रीबाट विदा भइसकेपछि उनलाई आफ्नो आर्थिक सल्लाहकार बनाउनुमा पनि आपत्ति छैन । त्यसको १५ दिन पुग्दा नपुग्दै पुनः अमेरिकाका लागि राजदूत बनाउनु मपाइँत्व देखाउनु बाहेक अरु के हो ? सत्तामा बसेर शक्ति प्रदर्शन गर्नका लागि आफ्नो पार्टी भित्रका अन्य नेताहरुको भावनालाई पनि बु्झ्न सक्नुपर्छ भन्ने हेक्का नराख्नु नै आजको अवस्था आउनु हो ।

प्रचण्ड युद्धको मैदानबाट आएका नेता हुन् । उनले तिमीलाई काम गर्ने क्रममा अप्ठ्यारो पारे तर माधव नेपालदेखि झलनाथ खनालसम्म तिमीसँगै एक – एक कार्यकर्ता बटुल्दै लामो समय राजनीतिक जीवन व्यतित मात्र गरेका होइनन् देशको प्रधानमन्त्री भएर शासनसत्ता संचालन गरेका अनुभवी हुन् भन्ने कुरालाई हेक्का नराख्नु नै आज नेपाली जनताको मतलाई अपमान गर्नु हो ।

वैशाख १७ र २७ गते गरि दुई चरणमा निर्वाचनको घोषणा गर्न त सजिलो भयो । तर निर्वाचनका लागि हुने अथाह धनराशीको जिम्मेवारी लिने कसले ? फेरि पनि नेपाली जनताले तिरेको करको दुरुपयोग हुने निश्चित भएन र ? त्यति मात्र होइन अबको निर्वाचनमा ओली हिजोको जस्तै राजनेता ओली, हिजोको जस्तै नेपाली जनताको आशाको केन्द्रबिन्दु, हिजोको जस्तै सर्वमान्य, हिजोको जस्तै चमत्कारिक, हिजोको जस्तै लोकप्रिय, हिजोको जस्तै राष्ट्रवादी, निडर, अडिग, त्यागी र स्थायी सरकार र स्थायी शान्ति चाहने ओली रहेनन् । अबका ओली स्वार्थी, जनमतको अपमान गर्ने, जनताका अलोकप्रिय, डरछेरुवा, ढुलमुले, स्थायी सरकार र शान्तिको विरोधी ओली बने ।

नेपाली कम्यूनिष्ट आन्दोलनलाई उचाईंमा पु¥याउनका ओलीले त्याग गर्नेछन् भनेर नेपाली जनताले विश्वास गर्नु आफैलाई धोका दिनु रहेछ । तिमी त आफूलाई पूजारी सम्झनेहरुको लागि देउता रहेछौ । तर तिमीले गरेका नराम्रा कार्यहरुको बारेमा आवाज बुलंन्द गर्न खोज्नेहरुका लागि तिमीले राक्षसीपन देखाउँदा रहेछौ भन्ने कुराको पर्दाफास भएको छ । त्यसैले अबका दिनमा फेरि तिमीलाई कसरी विश्वास गर्नु ?

अर्को मुख्य कुरा के भने कम्यूनिष्टहरुको गठबन्धन भइसकेपछि बनेको नेकपा प्रति आशा, भरोसा र विश्वास गरेर अबको परिवर्तन जनताको लागि अबको विकास जनताका लागि अबको क्रान्ति जनताका लागि भन्नेहरुले तिमीले गरेको कुकर्मको फल भोग्नु पर्ने अवस्थाको सिर्जना भयो । आज घेराबन्दीमा परेको भन्दै नेपाली जनताको राजनीतिक भावनामा जुन खेलवाड भयो त्यसका लागि ओलीलाई इतिहासले कहिल्यै क्षमा दिने छैन । १४ वर्षे जेल जीवन विताएर भएपनि नेपाली कम्यूनिष्ट आन्दोलनलाई सफलताको शिखरमा लैजाने हिम्मतका साथ आफ्नो स्वास्थ्यको प्रवाह नै नगरि अघि बढिरहेका ओली भनेर छाति फूलाउँदै हिड्ने तिम्रा कार्यकर्ता र समर्थकहरु आज लाजले भुतुक्क भएका छन् । आफ्नै पार्टी भित्रको विषम परिस्थितिलाई सामना गर्न नसक्ने एउटा अकर्मण्यता भएको व्यक्तिबाट के आशा गर्नु ?

कुनै दिन ओली आजका लागि भन्दा पनि भोलिका लागि आफ्ना लागि भन्दा पनि देशका लागि भन्दै उफ्रिनेहरु नेपाली जनताका अगाडि के भन्लान् अब । अब हुने मध्यावधि निर्वाचनमा तिमीले राजनीतिक जीवनबाट सन्यास लिन सक्नुपर्छ । सामाजिक सञ्जालमा तिम्रा पक्षहरुले भने झँै तिमी भित्र पवित्रता रहेन अब । त्यसैले ओली ओली रहेनौ तिमी ।

कुनै दिन देउवाले देखाएको राजनीतिक हर्कतका कारण आज काँग्रेसले जुन हविगत भोग्नु परेको छ । त्यही हविगत अब ओलीले नेतृत्व गर्ने पार्टीको हुनेछ ।