सदस्य सचिव नियुक्तीको विषयमा कारण देखाउ आदेश जारी
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

सदस्य सचिवको नियुक्ति कानुन सम्मत नभएको दाबी गर्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतविरुद्ध मुद्दा दायर गरेका थिए । न्यायधिश नहकुल सुवेदीको एकल इजलासले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पुस ६ गते कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेको थियो । मुद्दा दायर गरेका गिरी र कर्णाली प्रदेशलाई पुस २० गते अन्तरिम आदेशका लागि छलफल गर्न बोलाइएको छ ।
सदस्य सचिवको दोस्रो नम्बरमा सिफारिसमा समेत रहेका गिरीले ऐनमा व्यवस्था भएअनुसार परिषदमा नियुक्ति नभएको दाबी गर्दैै रिट दायर गरेका छन् । कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको थियो । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई पूर्णता दिएको थियो ।
परिषद्को पूर्णतासँगै नियुक्तिको विषय विवादमा भएको थियो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफारिसमै नरहेका सन्ज्याललाई परिषद्को सदस्य सचिव नियुक्त गरिएको आरोप लगाईको छ ।
सदस्य–सचिवमा सन्ज्याल सिफारिसको दसौं नम्बरमा थिए । मुख्यमन्त्री शाहीले उनलाई पहिलो नम्बरमा सिफारिस गर्न दबाब दिएपछि फाइल नै फिर्ता गरिएको बताइएको थियो । पछि सन्ज्याललाई तेस्रो नम्बरमा सिफारिस गरिएपछि त्यसै आधारमा सदस्य सचिव नियुक्त गरिएको बताइएको थियो ।
सन्ज्याललाई सदस्य–सचिव सिफारिस गर्न मिल्ने नमिल्नेबारे आन्तरिक मामिला मन्त्रालयमा राय मागिएकोमा खेल क्षेत्रमा नभएपनि सिफारिस गर्न मिल्ने पत्र पाएपछि उनलाई मुख्यमन्त्रीकै दबाबमा सदस्य सचिव सिफारिस गरिएको बताइएको थियो । इन्जिनियर समेत रहेका सन्ज्याल यस अघि राष्ट्रिय खेलकुद परिषदमा भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए ।
परिषद्को उपाध्यक्षमा उपाध्यक्षमा मिड वेस्र्टन फिटनेश सेन्टरका प्रमोद हमाल नियुक्त भएका थिए । त्यस्तै ५ सदस्यमा जुम्लाका एथलेटिक्स खेलाडी सरोज शाही, दैलेखका कराँते खेलाडी हेमा खड्का, हुम्लाका टक्कबहादुर शाही, सल्यानकी भुमाकुमारी बुढाथोकी र जागरकोटका मोहनराज घर्ती नियुक्त भएका थिए । ९ सदस्य परिषद्को अध्यक्ष प्रदेशका सामाजिक विकास मन्त्री र सोही मन्त्रालयका सचिव परिषद्को सचिव रहने व्यवस्था ऐनमा छ ।






