Loading... आजः ९ आश्विन २०८३, शुक्रबार । Friday 25th September 2026

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख

काठमाडौं ।

सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए ।

‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले भने ।

संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनले बताए । सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु ।’