Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

घ्वाच्च घोच्यो – व्यंग्य

खाइपाइ पाएको सेवा सुविधा मान सम्मान कसलाई गुमाउन मन लाग्छ र हजुर । यतिबेला फुत्त फुत्त गुट बदल्नेहरु प्रति किन अरुहरुले डाहा गर्नु नि । कसले मौका पाउँछन् उनीहरुले आहा गरेपछि अरुको टाउको किन दुख्छ भनेको । झण्डावाल गाडिमा सरर हिड्न छोडेर त्यो वैशाखमा हुने नहुने अनिश्चित भएको चुनावतिर कोही लाग्छन होला त । त्यसैले हाम्रो कर्णालीतिर पनि मन्त्रीदेखि सांसदसम्म जता बलियो उतै ढलियो भएको हो । मन लागे आफूहरु पनि उनीहरुकै पछि लागे भइहाल्यो नि । उनीहरु आफूसँग हुने बेलासम्म जुझारु, सच्चा, इमान्दार, कर्मठ अनि उता लागेपछि स्वार्थी, बेकामे, बकम्फुसे । यस्ता नचाहिँदा उपाधिले विभुषित नगरे हुन्छ । पानी माथिको ओभानो कोही नबने हुन्छ । दल भएको ठाउँमा दल बलियो हुन्छ नन्द भएको ठाउँमा बार्गेनिङ्ग बन्द हुन्छ भन्ने पनि नजान्नेहरु सामाजिक सञ्जालमा कुरा काट्छन् बरै । लु खतम ।

होइन हो उखाने भनेपनि टुक्के भनेपनि हुक्के भनेपनि केपी भनेका केपी हुन क्या । संविधानलाई खर्लप्पै पारेर झण्डै दुईतिहाइको प्रतिनिधि सभाको घाँटी निमोठेर छोडे । गठबन्धन तोडे । आफ्नो बाटो चुनावतिर माडे । कार्यकर्ताहरु गोडे । जम्बो केन्द्रिय समिति जोडे । प्रचण्डलाई दिन दोष दिएका छन् । नदिउन् पनि कसरी । हिजो आफैले खनेको खाल्डोमा आफै परेपछि अरुलाई दोष त दिनै पर्छ क्या । त्यो हामी नेपालीहरुको बानी नै । खै कति सिटमा खुम्चिएर बस्थ्यो माओवादी नामको पार्टी बहुमत ल्याउने र काँग्रेसलाई लामखुट्टे मार्ने काममा लगाउने आफूहरुले रेल ल्याउने, तेल ल्याउने, सेल खाने खेल खेल्ने योजना बनाएपछि यस्तै हुन्छ । गोत्र गाँसेर भाइ बनाएपछि अंश पनि दिन सक्नु पर्छ । अहिले रोएर हुँदैन । केपीको रुवाई पनि धेरै भयो । हिजो ठूलो परिवार देखाएर ठूलो भाग लिनका लागि गोत्र गाँस्ने अहिले भाइ छुटिभिन्न हुँदा अंश लग्यो भनेर रुवाबासी गर्ने । सुहाएन हजुर सुहाएन । केपी रोएको पनि सुहाएन । आफै काम चलाउ भइसकेपछि मन्त्रीमण्डल विस्तार गर्दै टिके मन्त्री बनाएको पनि सुहाएन । हिजो काम गर्न दिएनन् भन्नेले आज काम चलाउ हुँदा पनि मन्त्रीका मन्त्री थपेर सरकारी सम्पत्तिमा सरर । लु खतम ।

नयाँ जोगिले खरानी धेरै घस्छन् रे भन्न सुनेको हो तर नयाँ मन्त्रीले पनि खरानी घस्छन् भन्ने सुनेको थिइएन तर के गर्नु देखियो आफ्नै आँखाले । बाँचेपछि के के देख्न पाइन्छ भन्थे हो रहेछ । हिजो युद्ध लडेका बादलले आजसम्म पानी पार्न सकेनन् । अन्ततः घामतिर लागेर माम खाने योजना बनाएर दिन तिनका पनि ओरालो लागे अब । बाबै बादल भएर पनि कति सारो गर्जेका । बम नै भएको भए त नराम्रोसँग पड्किने थिए होलान् । त्यो पनि प्रचण्डकै आसपासमा गएर । प्रचण्डको कोटामा गृहमन्त्री बनेका बादल प्रचण्डकै विरुद्धमा नराम्रोसँग गर्जे । लु खतम ।

राजनीतिमा दीर्घ सत्रु र मित्रु हुँदैन भन्ने कुराको समेत ख्याल नगरेर केपी बा लाई जे मन लाग्यो त्यही भन्नेहरु भोली फेरि अर्को एकिकरणमा के मुख लिएर उनैलाई जिन्दावाद भन्ने हुन् कुन्नी । आलोचना होस् कि बासीचना भोली सबै मिलेर खानु छ भन्ने कुराको हेक्का पनि नराख्दा रहेछन् । यिनीहरुको चाला देखेर यिनलाई भोट हाल्ने जनताको मुखै काला हुने अवस्था भइसक्यो । गाला चाउरिने अवस्था आइसक्यो । रोडमा बसेर तमासा देखाए । पलेटी कसेर हामी यता छौ रे । कसले देखेको थिएन र तिनीहरुलाई त्यता गएको । पार्टी फुटाएपछि एकता भंग अनि जता गएपनि भयो । जे गरेपनि भयो जसो गरेपनि भयो । अन्तिममा फेरि आउनु पर्ने जनताकै सामुमा हो । जितेर गएपछि पो जनता जतासुकै जाउन भन्ने हो त । निर्वाचन आउने बेलामा त जनता जनार्दन भन्नै पर्छ । हुँदा खाँदाको प्रतिनिधि सभा सिध्याउने उखाने बा लाई जनताले पनि के भन्ने हुन बा । चिन्ताकै विषय पो छ त । भोट दिने हुन् कि चोट त्यो त समयले नै बताउँला तर अलि अलि कुरा त हामीले पनि जानेका छौ भन्ने सुनेर यो हरिलठ्ठकलाई फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ