गाडीभाडा छैन घर कसरी फर्कने : वादी समुदाय
सुर्खेत |
गाडीभाडा नपाएपछि धर्नामा बसेका कर्णालीका वादी समुदाय सुर्खेतमै रोकिएका छन् । वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँचबुँदे सम्झौता भए पनि उनीहरु सुर्खेतमै रोकिएका हुन् ।
सरकार र आफूहरु बीच घर फर्किने सम्झौता भए पनि गाडी भाडा नहुँदा पाँच दिनदेखि सुर्खेतमै रोकिनुपरेको वादी समुदायका अगुवा हिक्मत वादीले बताए ।
खेती गर्न स्थायी लालपूर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका थिए ।
धर्ना बसेका वादी समुदाय र प्रदेश सरकारबीच फागुन २६ गते वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गरिदिने, १० लाखसम्मको निर्व्याजी ऋणको व्यवस्था गर्ने, वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्ने, प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्नेलगायतका पाँच बुदे सहमति भएको थियो ।
सम्झौताअनुसार सोही दिन नै घर फर्किने सहमति भए पनि आर्थिक अभावले जान नसकिएको हिक्मत वादीको भनाइ छ ।
हिक्मतका अनुसार घर नजिक भएका झण्डै १५० जना व्यक्तिहरु आफ्नै खर्चमा घर फर्किए पनि अझै ३०० जना खुला चौरमा रहेका छन् ।
व्यवस्थित बसोबासको माग गर्दै सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटका ४५० बढी वादी समुदायका व्यक्तिहरू सुर्खेत आएका थिए । उनीहरू आन्दोलन स्थगित गर्ने सम्झौतापछि पनि मुख्यमन्त्री कार्यालयअगाडि पाल हालेर धर्ना बसेका छन् ।






