Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

फर्किए वादी समुदाय, नगरप्रमुखले दिए गाडिभाडा

सुर्खेत ।
गाडी भाडा नपाएर घर फर्किन नसकेका बादी समुदाय गाडी भाडा पाएपछि घर फर्किएका छन् । दैलेख दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले गाडी भाडाको व्यवस्था मिलाइ दिएपछि बादी समुदाय घर फर्किएका हुन् ।

खेतीयोग्य जमिनको माग राखेर १७ दिनदेखि आन्दोलनरत कर्णाली प्रदेशका वादी समुदाय प्रदेश सरकारसँगको सहमति पछि पनि फर्कने गाडी भाडा नभएर गाँउ फर्कन सकेका थिएनन् । कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति गरेका कर्णालीका वादी समुदाय घर फर्केका छन् ।

दुल्लु नगरपालिका प्रमुखले गाडीको व्यवस्था गरेपछि घर फर्किन लागेको प्रेम बादीले बताए । ‘प्रदेश सरकारले समस्या समाधान गर्न पहल गर्छु भनेको छ । त्यही भएर आन्दोलन छोडेर घर फिर्ता हुँदै छौं ।’ उनले भने,‘भाडाको व्यवस्था भएपछि घर फिर्ता भएका हौं ।’

वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गर्ने, १० लाखसम्मको बिना ब्याज ऋणको व्यवस्था गर्ने, वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने लगायत पाँच बुँदे सहमति भएको छ ।