Loading... आजः ९ आश्विन २०८३, शुक्रबार । Friday 25th September 2026

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं ।

कोरोना संक्रमणबाट थलिएका  विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’

परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

नेपालमा बैकल्पिक राजनीतिको वकाल गर्ने थापा पेशाले सूचना प्रबिधि क्षेत्रका उद्यमी हुन् । उनकै अगुवाईमा अभियानका रुपमा सुरु भएको बिबेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

कोरोना संक्रमणका कारण उनी बिरामी परेपछि उनको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उनको उपचारका लागि सहयोग गरेका थिए ।