Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध

२२ जना प्रहरी पठाएर बस्ती नै सिल

सुर्खेत ।

जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा असुरक्षा बढेको भन्दै बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको बताए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो । बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना छ। यही कारण आज (सोमबार) बिहानदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटाइएको हो। आइतबार मात्रै राउटे मुखियासँगै राउटे समुदायले सुरक्षा माग गरेका थिए।​