Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

आज असार १५, राष्ट्रिय धान दिवस

कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत ।

आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।

कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।

हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपाली हरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।

कर्णालीमा सार्वजनिक बिदा

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवर्धन गर्न सो निर्णय गरिएको हो ।