Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

प्रतिपक्षको निरन्तर अबराेधका कारण बैकल्पिक बाटो रोजेका हौं : अर्थमन्त्री शर्मा

सुर्खेत ।

कर्णाली प्रदेश सभामा बजेट छलफलका लागि प्रतिपक्षले निरन्तर अबराेध गरेपछि बैकल्पिक बाटाेबाट बजेट ल्याउनुपरेकाे  आर्थिक मामिला तथा याेजना मन्त्री (अर्थ मन्त्री) गाेपाल शर्माले बताएका छन् । प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं मन्त्री शर्माले यस्ताे बताएका हुन् ।

सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको हो ।

मन्त्री शर्माले अध्यादेशमार्फत बजेट ल्याउनु कर्णाली प्रदेश सरकारको बिडम्बना भएको बताए । ‘अध्यादेशमार्फत बजेट आउँला भनेर कल्पना पनि गरिएको थिएन् । प्रदेशसभामा टेबुल भएको बजेट अध्यादेशमार्फत ल्याउनु परेको छ ।’ मन्त्री शर्माले भने,‘प्रतिपक्षको निरन्तर अबरुद्ध भएका कारणले बैकल्पिक बाटो रोजेका हौं । यो बिडम्बनाको बिषय हो ।’

पेश्की बजेट ल्याउँदा चालुतर्फको खर्च मात्र गर्न पाइने भएका कारणले अध्यादेशमार्फत बजेट ल्याएको मन्त्री शर्माले बताए । ‘कर्णालीमा भौगोलिक कठिनाई कारणले विकास निर्माणमा असर पर्ने भएकाले अध्यादेशमार्फत बजेट ल्याएका हौं ।’ उनले भने,‘प्रतिपक्षले बजेटको कार्यसूचीमा प्रवेश गर्न दिएन् ।’

एमालेको निरन्तर अवरोधको कारणले प्रदेशसभाबाट बजेट ल्याउन अवस्था नरहेको भन्दै बुधबार चालु प्रदेशसभाको अधिवेशन कर्णाली प्रदेश सरकारले अन्त्य गरेको थियो ।

बुधबार अधिवेशन अन्त्य गरेर बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले ‘कर्णाली प्रदेश विनियोजन विद्ययेक २०७८’ र ‘कर्णाली सरकारको आर्थिक अध्यादेश २०७८’ अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कौलोनी समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख कौलोनीले बिहिबार राती नै अध्यादेश जारी गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि ३६ अर्ब ५४ करोड ६६ लाख २६ हजारको बजेट असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेका थिए ।

प्रदेशसभामा पेश भएको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोधका कारणले छलफल नै भएको थिएन् ।