Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

लगानी जुटाउँदै ४३९ मेगावाटको वेतन कर्णाली जलविद्युत् आयोजना

सुर्खेत |
सुर्खेतको चौकुने गाउँपालिका र अछामको ढकारी गाउँपालिकाबीचको कर्णाली नदीमा बन्ने वेतन कर्णाली जलविद्युत् आयोजनाले लगानी जुटाउने अन्तिम तयारी गरेको छ । कर्मचारी सञ्चय कोषले सहायक कम्पनीमार्फत निर्माण हुन लागेको वेतन कर्णाली जलविद्युत आयोजनाले लगानीका लागि वित्तीय संस्थाहरूसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको हो ।

४३९ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाले ग्लोबल आईएमई बैंकको अगुवाइ (लिड) र सनराइज बैंक र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) सँग लगानीका लागि छलफल सुरु गरेको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड र बैंकहरूबीच ऋण लगानी सम्झौता हुन लागेको वेतन कर्णालीका प्रबन्ध सञ्चालक दीपक रौनियारले बताए । ‘बैंकहरूले आयोजनामा ५७ अर्ब ३२ रुपैयाँ ऋण लगानी गर्न तयार भएका छन्,’ उनले भने, ‘आगामी १५ दिनभित्र एउटा निर्णयमा पुग्छौं ।’

आयोजना बनाउन ७४ अर्ब १५ करोड रुपैयाँ लाग्ने र त्यसको १४ अर्ब रुपैयाँ ब्याज गरेर ८८ अर्ब १९ करोड रुपैयाँ लागतमा निर्काण हुने रौनियारले जानकारी दिए ।

१० प्रतिशत आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, २ प्रतिशत विपन्न र १३ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गरेर लगानी जुटाउने रौनियारले बताए ।

त्यस्तै, आयोजनामा सञ्चय कोषको १५, सञ्चयकर्ताको ४०, विद्युत प्राधिकरणको १०, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत र २५ प्रतिशत सर्वसाधारणलाई सुरक्षित गरेर सेयर लगानी गरिने उनको भनाइ छ ।

७ जेठ ०७४ मा ६८८ मेगावाट क्षमतामा सर्वेक्षण अनुमति पाएको वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने क्रममा सुर्खेततर्फ कडा चट्टान भएको भूगोल नभेटाएपछि आयोजनास्थल अछामतर्फ सार्ने निष्कर्षमा पुगेको हो । आयोजनास्थल सरेपछि क्षमता ४३९ मेगावाट हुने गरी डिपीआर निर्माण भइरहेको छ ।

४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युतगृह, बेस क्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा बाँधस्थल दुबै गाउँपालिकाको सीमामा पर्दछ । आयोजनाबाट सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको ७ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका–३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । न्युज कारखाना