संस्कृति जोगाउँदै देउडा पारखीहरू
सुर्खेत ।
प्रदेश नं. ६ को राजधानीको रूपमा प्रस्तावित मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर सुर्खेत । एउटा समथल उपत्यका र त्यसको वीचमा लमतन्न सुतेको काँक्रेविहार । भकभक उम्मेको पानी झैं देखिने बुलबुले ताल । भौगोलिक र प्राकृतिक रूपमा जति सुन्दर छ त्यत्तिकै विभिन्न सांस्कृतिक र ऐतिहासिक परम्पराले पनि भरिपूर्ण छ सुर्खेत । मध्य तथा सुदूरपश्चिमको संस्कृतिको व्याख्या गर्दा छुटाउनै नहुने यहाँका गायन परम्परा र गीतहरू पनि हुन् । यसै अन्तर्गत पर्ने देउडा संस्कृति यहाँको महत्वपूर्ण संस्कृति हो ।

विभिन्न चाडपर्व, उत्सव एवम् जात्राहरू देउवा विना अधुरो रहने गर्दछन् भन्दा अन्यथा नहोला । यही सुन्दर वीरेन्द्रनगरको खुलामञ्चमा प्रत्येक महिनाको १ र १५ गते देउडा पारखीहरूको ठूलो भीड लाग्ने गर्दछ । देउडा गाउने र देउडामै सवाल जवाफ गर्नेहरूको भन्दा अझ बढी उत्साह देखिने गर्दछ देउडा सुन्न र हेर्न आउनेहरूमा ।
आ–आफ्ना समूह बनाएर देउडा गाउनेहरूका छुट्टाछुट्टै समूह हुन्छन् । कतै महिला–महिला, कतै महिला – पुरूष त कतै पुरूष– पुरूष । समय, परिवेश, भौगोलिक तथा ऐतिहासिक रितिरिवाज र चालचलन अनि राजनैतिक व्यङ्ग्यमात्र होइन दुःख सुखका पोका पन्तुराहरू समेत खोल्छन् देउडा गायकहरू । देउडालाई जगेर्ना गर्न र त्यसको संरक्षण र सम्वद्र्धन गर्नका लागि यी देउडा पारखीहरूले चालेको कदमको स्रहना गर्नै पर्दछ । हामी केवल रमाइलोको लागि मात्र नभई यसको विकास र प्रवद्र्धनको लागि समेत देउडा गाउने गर्दछौ भन्छन् देउडा गायक मध्यका एक हेमराज अधिकारी ।
संस्कृति र परम्परा अनि पुराना रितिरिवाजहरू हराउँदै जान थालेकोमा चिन्ता छ देउडा गायकहरूलाई । नराम्रा कु–संस्कारको अन्त्य गर्नुपर्छ तर जुन ऐतिहासिक र पहिचानकै रूपमा रहेका संस्कृतिहरू छन् तिनीहरूको जगेर्ना गर्नुपर्छ भन्छन्, अर्का देउडा गायक चित्रबहादुर केसी । कला, साहित्य, संस्कृति, परम्परा र सम्पदाहरूको जगेर्ना गर्ने कार्य सरकारको हो । तर सबै कार्यमा सरकारको भरमा पर्ने हो भने भालीका दिनहरूमा हाम्रा पहिचान र संस्कृति केवल इतिहासका पानामा मात्र सिमित हुने चिन्ता छ देउडा गायक शेरबहादुर खड्कालाई । एउटा स्टूडियो भित्र रेकर्ड गरेर बजाइने देउडा र खुला रूपमा दर्शकलाई प्रभाव पर्ने गरि गाइने देउडाका वीचमा फरक भएको बताउँछिन् देउडा गायक कालसरा रेग्मी ।
कापीका पानामा लेखेर बन्द स्टूडियोमा गाएको देउडा भन्दा सम्पूर्ण दर्शकहरूले प्रत्यक्ष अवलोकन गर्ने देउडा अब्बल लाग्ने गर्दछ देउडा हेर्नकै लागि दैलेखबाट सुर्खेत आइपुगेकी भगवतीमाई गाउँपालिका निवासी सीता थापालाई । हुन त उनको मोवाइलमा पनि थुप्रै देउडा गीतहरू छन् । तर खुला रूपमा खेलिने देउडामा एक पक्षले गीत मार्फत सोधेको सवालमा अर्को पक्षले के जवाफ दिने होला भनेर पर्खिरहेको बेलामा अर्को पक्षले दिएको जवाफले निकै सन्तुष्टिमात्र प्रदान गर्दैन आफै पनि देउडा खेलौ खेलौ लाग्ने गर्दछ सीतालाई ।
शुरू शुरूमा केवल देउडामात्रै गाइने सुर्खेतको खुलामञ्च केही समय यता भजनकिर्तनका लयमा नृत्य पनि प्रस्तुत हुन थालेका छन् भने यस क्षेत्रका निकै महत्वपूर्ण संस्कृति भित्र पर्ने हुर्के नाच पनि देखाइन थालिएको छ । जो सँग जुन कला छ र जसले त्यहाँ उपस्थितहरूलाई मनोरञ्जन प्रदान गर्न सक्दछ त्यसले खुला रूपमा आफ्नो प्रस्तुती राख्न पाइने भएकोले पनि वीरेन्द्रनगरका लागि प्रत्येक महिनाको १ र १५ गते महत्वको दिन बन्दै गइरहेको छ ।
वैशाखको प्रचण्ड गर्मी होस् या साउनको वर्षे झरी अथवा पुस मात्र महिनाको ठिहि¥याउने जाडो नै किन नहोस् । देउडा पाखरीहरूको संगमस्थलमा भीड लागिहाल्छ । तत्कालिन माओवादीको सशस्त्र जनयुद्धको बेलामा सुर्खेत उपत्यका वरीपरीका जिल्लाहरूबाट बसाइँ सर्नेहरूको संख्या उल्लेख्य रह्यो । कर्णाली अञ्चलका जुम्ला, कालीकोट, हुम्ला, मुगु र डोल्पा मात्र होइन भेरी अञ्चलका दैलेख र जाजरकोट लगायत राप्ती र सेती अञ्चलका जिल्लाहरूबाट पनि यस ठाउँमा बसाइँ सर्नेहरूको संख्या निक्कै छ ।
नेपाली भाषाको उद्गमस्थलको रूपमा रहेको जुम्लाको सिंजा र देउडाको प्रमुख थलोका रूपमा रहेको जुम्ला । उक्त जिल्लाहरूबाट बसाइँ सरेर आएकाहरू महिनाको दुईपटक सुर्खेतको खुला मञ्चमा भेला हुन्छन् । हुन त यस क्षेत्रमा बसोबास गर्नेहरू अधिकांशले देउडा गीतमा भएका सवाल जवाफ बुझ्छन् । त्यसैले देउडा गायक मात्र होइन सुन्नेहरूको पनि ठूलै भीड हुन्छ देउडा भन्ने वित्तिकै ।






