विदाई हुँदै वडाध्यक्ष कँडेलले भने, ‘वडाको जग हालिदिएका छौ निर्माण गर्नुहोला’
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरुको औपचारिक रुपमा विदाई भएको छ । २०७४ सालमा निर्वाचन भएका जनप्रतिनिधिहरुको कार्यकाल यही जेठ ५ गते सकिएकाले पूराना जनप्रतिनिधिहरु विदा भएका हुन् । विदाई कार्यक्रममा बोल्दै वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष मोतिप्रसाद कँडेलले आफूले ६ नं. वडाको विकासको जग निर्माण गरिदिएको र त्यसको निरन्तरता दिँदै सम्पन्न गर्ने जिम्मेवारी नयाँ वडापालिकाको काँधमा सरेको बताए ।
विदाई कार्यक्रममा बोल्दै वडा सदस्य कमला नेपालीले पाँच वर्षको अवधिमा काम गर्दा वडापालिका, वडावासी र टोलविकास संस्था तथा वडाका कर्मचारीहरुले असल समन्वय गरेका कारण कार्यकाल सफल भएको बताइन् । उनी पुनः दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् ।
यसैगरी आफू जिल्ला समन्वय समितिमा निर्वाचत भएको भएपनि वडाका लागि आफूले गर्नुपर्ने काममा हरपल आफू खटेको बताउँदै जिल्ला समन्वय समितिका सदस्य समेत रहेकी पूर्णाकुमारी चालिसेले वडावासीले दिएको जिम्मेवारी पूरा गर्न सकेको बताइन् । विवश आचार्यले भने, विदाई भएपनि यही वडावासी भएका कारण आफूले असल नागरिकको हैसियतले गर्नुपर्ने कार्यमा सधैँ वडावासीसँगै छु ।
कार्यक्रममा वडामा रहेर काम गर्ने क्रममा वडावासीकै लागि र वडाको विकासका लागि सोचेर सबैसँगको समन्वयमा काम गरेकाले पनि पाँच वर्षको अवधिमा निष्पक्ष ढंगबाट काम गर्न सकेको वडा सदस्य उपेन्द्र बहादुर खड्काले बताए ।

जनप्रतिनिधिको समन्वयमा वडाका कर्मचारीदेखि वडावासी समेतले विकास निर्माणका कार्यमा सहयोग गरेका कारण आफूहरुलाई पनि काम गर्न सहज भएको बताउँदै वडा सचिव टीकाकुमारी थानीले निवर्तमान प्रतिनिधिहरुलाई धन्यवाद दिइन् । उनले भनिन्, जुन रफ्तारका साथ तपाईहरुले काम गर्नुभएको थियो त्यही रफ्तारमा काम गर्न सकियो भने वडालाई विकसित बनाउन सकिने विश्वास लिएको छु ।
वडासचिव थानीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण रेखा केसीले गरेकी थिइन् भने टोलविकास संस्थाका प्रतिनिधिहरुले समेत धन्यवाद ज्ञापन गरेका थिए ।
निवर्तमान वडाअध्यक्ष कँडेलद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंशः
कर्णाली प्रदेशको राजधानी समेत रहेको नगरपालिकाको रुपमा वीरेन्द्रनगर नगरपालिकाले आफ्नो एउटा जीवन्त इतिहास निर्माण गरिसकेको छ । त्यसमा पनि वडा नं. ६ यस नगरपालिकाको केन्द्रमा मुटुको रुपमा रहेको यहाँहरु सम्पूर्णलाई अवगत नै छ । आजभन्दा पाँच वर्ष अगाडि ६ नं वडावासीले हामीलाई दिएको जनमतका आधारमा वडा संचालनको जिम्मेवारी पाएर वडाअध्यक्षको रुपमा सहकर्मी जनप्रतिनिधिहरुसहित तपाईको सेवक भएर वडा कार्यालयमा प्रवेश गरेको थिएँ । मैले पाएको जिम्मेवारी र अधिकारलाई कानूनको अधिनमा रही पालन गर्नु नै मेरो नैतिक दायित्व थियो र हो । तपाईहरुको सेवा गर्दै वडा भित्रका विभिन्न भौतिक तथा व्यवहारिक विकासका लागि आफूले गर्नुपर्ने कार्यहरु गर्नका लागि कसैको दबाब र प्रभावमा पर्ने छैन भन्ने जुन प्रण गरेको थिएँ वडाको समृद्धि र सम्पन्नताका लागि त्यो प्रण कहिल्यै भुलिन अनि आजपनि त्यो प्रणलाई सम्झिरहेको छु ।

कर्णाली प्रदेशको मुटुको रुपमा रहेको वडालाई विकसित नगरी कर्णालीको विकास कसरी सम्भव हुनसक्छ भन्ने सबैको मनमा लागेकै थियो र हो पनि । जसरी एउटा मानव शरिरलाई स्वच्छ र तन्दुरुस्त राख्नका लागि मुटुले हरपल हरक्षण आफू चलाएमान भइरहनु पर्छ त्यसरी नै वडालाई स्वच्छ राख्नका लागि मैले आफ्नो व्यक्तिगत जीवनभन्दा माथि उठेर चलायमान हुने कोसिस गरें । जनप्रतिनिधिको रुपमा कार्य गर्दैगर्दा मैले आफ्नो व्यक्तिगत जीवनमा गर्नुपर्ने कार्यहरुलाई समेत थाँती राखेर वडाको विकास र समृद्धिका लागि अथक प्रयास गरेको यहाँहरु सबैलाई जानकारी नै छ ।
वडा नं. ६ को विकास र समृद्धिका लागि वडा भित्र जग मात्र होइन पिल्लरहरु समेत निर्माण गर्न सफल भएका छौ । अब आउनु हुने जनप्रतिनिधिहरुले समेत ती पिल्लरहरुलाई अझ बलिया बनाउनका लागि खेल्नु पर्ने भूमिका को निर्माण गर्नमा कतै पनि कुनैपनि कसर बाँकी रहने छैन भन्ने विश्वास लिएको छु । वडाको समृद्धिको आधार निर्माण भएको छ । हरियाली शहर निर्माणका लागि गरेका कार्यहरु तपाईहरुकै अगाडि जाज्वल्यमान छन् भने प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको वडा भएकाले यसको सुरक्षाका लागि गरिएका पहलहरु, सफा वडा र सुन्दर वडाका लागि चालिएका कदमहरु, भौतिक रुपमा निर्माण गरिएका संरचनाहरु समेत यहाँहरुका अगाडि ऐन जत्तिकै छन् ।

व्यापारिक क्षेत्रका हिसावले होस् कि जनघनत्वका हिसावले होस् ६ नं. वडा आफैमा व्यापकता भित्रको अनेकता र अनेकता भित्रको विविधता ओगेटेको वडापनि हो । यहाँ जति धेरै अवसरहरु छन् त्यो भन्दा धेरै चुनौतिहरु पनि छन् । वडामा जनप्रतिनिधिको रुपमा आउनु आफ्नो कार्यकाल समाप्त गर्नु समयको चक्र हो । तर त्यो चक्रलाई सम्पूर्ण वडावासीहरुको हितको लागि चलायमान बनाउनु ठूलो कुरा हो । जुन कुरा म हिजोका दिनसम्म पदमा रहँदाको अवस्थामा जुन लक्ष्य र उद्देश्य लिएर पूरा गरें भोलिका दिनमा पनि यस वडाको एउटा सचेत नागरिकको हैसियतले होस्टेमा हैसे गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने कुरा सम्पूर्णवासीहरु समक्ष प्रण गर्न चाहान्छु ।
करिब २० वर्षको अन्तरालपछि हामी जनप्रतिनिधिको रुपमा आउँदै गर्दा देशको संविधान बमोजिम भएको संघीयताको नयाँ संरचनालाई व्यवस्थापन गर्नुपनि थप चुनौति थियो । कर्मचारीको अभावदेखि भौतिक संरचनाको व्यवस्थापनका कारणले वडावासीहरुलाई सेवा दिने क्रममा कुनै कमीकमजोरी भएको भए त्यो बाध्यात्मक परिस्थितिमा भएको बुझिदिन अनुरोध गर्दछु । कार्य संचालनको क्रममा र कानूनको पालना गर्दै गर्दा पदीय दायित्वका कारण कतिपय स्थानमा कठोरता उठाउनु मेरो जिम्मेवारी र कर्तव्य भएकाले त्यसलाई बहन गर्न सकेकोमा खुसी लागेको छ ।

पाँच वर्षसम्म सहकर्मी जनप्रतिनिधिहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरु, ६ नं. वडा भित्ररहेका विभिन्न टोलविकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, हामीले गरेका कार्यहरुलाई सम्पूर्ण आम जनसमुदायमा पु¥याउनुहुने पत्रकार बन्धुहरु तपाईहरु सबैको साथ, सहयोग, सल्लाह र सुझावले मेरो नेतृत्वमा हाम्रो कार्यकाल सफल भएको मूल्याङ्कन गरेको छु । यस अतुलनीय कार्यका लागि यहाँहरु सबैप्रति ऋणी भएको छु । आफ्नो कार्यकालको समयमा कहिँ कतै कुनै दबाब र प्रभावमा नपरेका कारण कसैका व्यक्तिगत इच्छाहरु पूरा हुन सकेनन् होला । कानूनले दिएको अधिकार बमोजिम कोही कसैलाई पनि काखा र पाखा नगरेको स्पष्ट पार्न चाहान्छु ।

राज्य जनप्रतिनिधीविहिन अवस्थामा रहेको करिब दुई दशक सम्मको लामो यात्रामा व्यवस्थापन गर्नुपर्ने थुप्रै कुराहरु रहेका थिए । संकल्प लिएका वाचाहरु सबै पुरा गर्नका लागि समय र परिवेश अनुकुल नभएको केही अनुभव समेत रहयो कारण कार्यसम्पादन गर्नका लागि अथाह चाह रहदा रहदै पनि कार्यप्रक्रियाका लागि निति र बिधि आवश्यक पर्ने भएकाले निर्वाचित भएर आएका करिब आधा भन्दा बढी समय नितिगत व्यवस्थापनको तयारीमा नै जुटनु परेको वास्तविकता यहाँहरु माझ सर्वविधितै छ । यसका बावजुत पनि बाँकी समयमा वडा तहमा केहि उल्लेखनिय कार्य सम्पादन गर्न सफल भएको अनुभुति गरेको छौ ।
- कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगरको मुख्यद्वारमा अवस्थित यस वडाको प्रशासनिक कार्य सम्पादन आफ्नै कार्यालय भवन बाट हुने सोचका साथमा कार्यालयको भवन निर्माण कार्यको शुभाम्भ गरिएको छ ।
- पाँच वर्षको अवधिमा खाने पानी सहज आपूतिका लागि विभिन्न सार्वजनिक ५ स्थानमा डिप बोरिङ खन्ने कार्य सम्पन्न गरिएको छ ।
- शैक्षिक गुणस्तर सुधारका लागि वडामा रहेका दुई वटा सामुदायिक विधालयमा सि सि क्यामरा जडान देखि लिएर वडाको सामुदायिक बालविकास केन्द्रलाई नमुना बालविकासको रुपमा स्थापित गर्नका लागि वालमैत्री शौचालयको समेत निर्माण कार्य गरिएको छ ।
- सम्पन्न वडाको बिपन्न बस्तीको रुपमा रहेको शान्तिटोल, प्रगतीटोल हुदै पुल्चोक सडक खण्डमा नमुना सडक विस्तारका लागि गोटा टाइल राखेर बाटोको सडक स्तरोन्नती कार्य गरिएको छ ।
- नगर उज्यालो कार्यका लागि वडा स्तरमा विनियोजन गरिएको टावर लाईटको योजनालाई वीरेन्द्रनगर नगरकार्यपालीकाको कार्यालयले समेत सम्वोधन गरी वडाका विभिन्न ५ वटा स्थानमा हाइमास लाईट राख्न सफल भएको छ ।
- तत्काल निर्माण भएको सिटीहल अगाडीको भागलाई भानु पार्कको रुपमा व्यवस्थित गरी निमार्ण गरिएको छ ।
- कोभिड जस्तो महामारीले देश नै आक्रान्त पारेको वेलामा वडावासीलाई संयम रुपमा कार्यपालिकाबाट भएका निर्देशन बमोजिम तथा अन्य गैरसरकारी निकायको सहकार्यमा समेत राहात वितरणका लागि पहल गरिएको थियो ।
- कोभिडको महामारीका कारण तथा वडामा जग्गा उपलब्ध हुन नसकेका कारण वडा स्वास्थ्य चौकीको स्थापना हाललाई कटकुवा हेल्थपोष्ट साविक नगर अस्पताल परिसरमा स्वास्थ्यचौकी निर्माण गरी पायक पर्नै स्थानबाट स्वास्थ्य सेवा प्रवाह भई रहेको छ ।
- सार्वजनिक जग्गाको अभावका विचमा पनि एस एन भि को आर्थिक सहयोगमा सार्वजनिक शौचालयको स्थापना गर्न सकिएकोछ ।
- वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ लाई प्रत्यक्ष प्रकोपले प्रभाव पार्ने खोर्कखोला तथा खारखोलीका विभिन्न क्षेत्रहरुमा तटबन्धन कार्य गरिएको छ ।
- प्रदेश सरकारको सहयोगमा मंगलगढीचोक देखि गणेशचोक सम्मको सडक स्तरोन्नती गर्ने कार्यका लागि टेण्डर भईसकेको छ ।
भौतिक तथा समाजिक विकास तर्फ वडा तहमा भएका विभिन्न कार्यहरु यहाँहरु माझमा स्पष्ट सँग देखिएका नै छन । मेरो कार्यकालमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण वडावासीहरु प्रति म हार्दिक कृतज्ञ रहेको छु । म सँगसगै जनप्रतिनिधीको रुपमा निर्वाचित रहेर आउनु भएका ६ नं वडाका मेरा सहयात्रीहरुले गर्नुभएको सहयोग र समन्वयका लागि म ऋणी छु । पद बाहिर रहेर पनी एक सचेत नागरिकका हैसियतले गर्नु पर्ने भुमिकामा म सदैव कटिबद्ध रुपमा लागिरहनेछु भन्ने कुराको प्रतिवद्दता समेत गर्न चाहान्छु । धन्यवाद ।






