मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको बताए । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।
‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले भने ।
सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०७९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ ।
प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो । तर सरकारले एकैचरणमा चुनाव गर्ने निर्णय गरेपछि प्रवक्ता राईले भने, ‘विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहित र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको हो, यसपालि पनि सुरक्षामा कुनै त्रुटि रहँदैन ।’
उनका अनुसार स्थानीय तहको निर्वाचनमा छिटफुट घटना भएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्थापन मिलाइनेछ । प्रहरीले निर्वाचन सुरक्षा तयारीका लागि कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्व सेल बनाउने तयारी गरिरहेको छ ।
मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।
पछिल्लो २÷३ दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताए । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो । आयोगले १ असारदेखि यसअघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या एकिन नभएको आयोगको भनाइ छ । आयोगले उनीहरुको विवरण छुट्टै राख्छ । स्थानीय तहबाट मृत्युदर्ता गरेकाहरुले लगत समेत घटाइने हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने आयोगले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेकाले शुक्रबारदेखि नामावली संकलनको काम रोकिने आयोगले जनाएको छ ।






