राजनीतिको नाममा हिन्दुराष्ट्र माथि आक्रमणः सांसद शाही
सुर्खेत ।
नेपाल ज्योतिष परिषदको वार्षिकोत्सवमा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले नेपालमा राजनीतिको नाममा हिन्दुराष्ट्र माथि आक्रमण भएको बताएकी छन् । नेपाल ज्योतिष परिषदको २५ औं स्थापना दिवसको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद शाहीले यस्तो बताएकी हुन् । उनले भनिन्, सनातन धर्म संरक्षणका लागि देशभर जागरण कार्यक्रम हुन आवश्यक छ । धर्मको जगेर्ना मात्र होइन त्यसको संवद्र्धन र विस्तार समेत आवश्यक भएको बताउँदै सांसद शाहीले थपिन्, जनतालाई धार्मिक रुपमा फुटमा हालेर आफ्नो भोटबैंक बनाउनेहरुले सफलता प्राप्त गर्ने छैनन् ।

पण्डित तिलक रिजालले शुभकामना मन्तव्यमा भने, सबै भन्दा जेठो संस्कृति वैद्धिक संस्कृति भएको र संस्कृत भाषा भएकाले पनि यस माथि विभिन्न आक्रमणहरु भइरहेका छन् । संस्कृतिको रक्षा गर्नु भनेको विश्व कल्याणका लागि भएकाले केवल कमाईखाने तर्फ नभई विश्व कल्याणका लागि ज्योतिष ब्राह्मणहरुले काम गर्नुपर्दछ । ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र भएकाले पनि यसलाई कसैले काट्न नसक्ने भएकाले हामीले वर्ण धर्मको पालना गर्न गराउन आवश्यक भएको उनको भनाई थियो ।
कर्णालीमा संस्कृत विद्यालयको आवश्यकता भएकाले सरकारले त्यसतर्फ ध्यान देओस् भन्ने मागसहित पण्डित रिजालले भने समयको उत्पत्तिदेखि अन्त्यसम्मको ज्ञानको व्याख्या बेदमा छ । पञ्चाङ्गको ज्ञान विना कर्मकाण्ड अधुरो हुन्छ त्यसैले पञ्चाङ्गको ज्ञान हासिल गर्न जरुरी छ ।
नेपाल ज्योतिष परिषदको स्थापना दिवसको अवसरमा सुर्खेतका ज्योतिषहरुले वार्षिकोत्व मनाएका छन् । नेपाल ज्योतिष परिषद सुर्खेत जिल्ला कार्यसमितिको आयोजना तथा प्रदेश समिति र केन्द्रिय समिति समेतको समन्वयमा वार्षिकोत्सव मनाइएको ज्योतिष परिषद सुर्खेतका अध्यक्ष याम प्रसाद अधिकारीले बताए ।

ज्योतिष विधालाई संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा युवाहरुमा आएकाले पाका गुरुहरुबाट सिक्दै प्रविधिको प्रयोगमा बढावा दिनु आवश्यक भएको बताउँदै नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य विकास पौडेलले भने स्पष्ट गणितको गणना गर्न नसक्नेहरुले सिक्न आवश्यक छ तर ज्योतिष विधालाई विगार्न पाइँदैन ।

कार्यक्रममा ज्योतिष परिषद कर्णाली प्रदेश समिति अध्यक्ष डा. गौरीशंकर शर्माले समेत शुभकामना मन्तव्य राखेका थिए । मानवसेवा आश्रममा फलफूल वितरण समेत गरेको ज्योतिष परिषदले शंखध्वनीसहित वीरेन्द्रनगर बजार परिक्रम समेत गरेको थियो । परिषद सुर्खेतका अध्यक्ष याम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव खगेन्द्र अधिकारीले गरेका थिए ।







