विहेबारी २० पारी, वडा कार्यालयबाट कोशेली
जुम्ला ।
जुम्लाको हिमा गाएँपालिका वडा नं. १ ले बालविवाह न्यूनिकरणलाई सफल बनाउनका लागि फरक खालको निर्णय गरेको छ । विहेवारी २० पारी गर्ने वडावासी चेलीहरुलाई वडा कार्यालयको तर्फबाट कोशेलीसहित विदाई गर्ने निर्णयले बालविवाह न्यूनिकरणको कानून पालना गर्न गराउन थप मद्दत पुग्ने वडा अध्यक्ष रतनबहादुर शाहीले बताए ।
वडा नं. १ को जनप्रतिनिधिहरुको बैठकले नारी दिवसका दिनदेखि लागु गर्ने गरी वडा भित्रबाट कम्तिमा २० वर्ष उमेर पुगेर विवाह गरी जाने चेलीहरुका लागि कोशेली सहित वडा कार्यालयले नै विदाई गर्ने निर्णय गरेको हो । नेपाल सरकारले तोके अनुसारको कानून बमोजिम नगरी कोही कसैले लुकीछिपी विवाह गरेमा दण्डनीय हुने भएकाले कानूनको पालनामा थप प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको वडा अध्यक्ष शाहीको भनाई छ ।
सानो परिवर्तनले पनि ठूलो कार्य गर्न सकिन्छ भन्ने भावनाका साथ यो निर्णय गरेका छौ । यसलाई लागु गर्छौ । जसले गर्दा २० वर्ष पुगेर विवाह गर्नेहरुबाट वडा कार्यालयलाई जानकारी आउँछ भने जानकारी नआएको विवाह कतै बालविवाह पो हो कि भनेर अनुगमन गर्न समेत सहज हुन्छ वडाअध्यक्ष शाहीले बताए ।
नारीहरु प्रति गरिने व्यवहारमा परिवर्तन आउन जरुरी भएको बताउँदै केवल बोली र भाषणमा मात्र नभई व्यवहारमा समेत लागु गर्नुपर्ने उनले बताए ।






