कौशीखेती प्रवद्र्धन गर्न कृषि सामाग्री वितरण
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ ले कौशीखेतीलाई प्रवद्र्धन गर्नका लागि कृषि सामाग्री वितरण गरेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ केन्द्रविन्दुको रुपमा रहेको छ । मुख्य बजार क्षेत्र रहेकाले जनघनत्वका आधारमा अन्य क्षेत्र भन्दा यस क्षेत्रमा धेरै फोहोर उत्पादन हुनु स्वभाविक भएकाले वडा कार्यालयले स्रोतमै फोहोरको न्यूनिकरण गर्ने उद्देश्यले कौशीखेतीलाई प्रवद्र्धन गर्ने योजना अनुसार कोशीखेती गर्नेहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सामाग्री वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यबहाक प्रमुख तथा उपप्रमुख निलकण्ठ खनालले ६ नं. वडा कार्यालयले कुरा भन्दा काम गरेर देखाएको बताउँदै वडावासीहरुले पनि आफूले आफ्ना लागि हो भन्ने कुराको अनुशरण गरेको बताए । कौशीखेतीले आफ्नो परिवारलाई तरकारीमा आत्मनिर्भर बनाएको खण्डमा तरकारी किन्ने पैसा मात्र जोगिनुका साथै अर्गानिक हुने भएकाले स्वास्थ्य समेत जोगिने बताए ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले कौशीखेतीबाट आफूलाई खाने तरकारी मात्र फलाउन सक्नु पनि ठूलो उपलब्धी हुने बताए ।
कौशीखेती गर्नेहरुलाई चार वर्गमा वर्गिकरण गरेर फरक फरक सामाग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रममा वडा नं. ६ कि प्रशासन सहायक रेखा केसीले भनिन्, ‘कौशीखेतीले वीरेन्द्रनगरको वातावरणमा सकारात्मक प्रभाव मात्र नभई स्वयम्ले उत्पादन गरेको तरकारीले स्वास्थ्यलाई पनि सन्तुलनमा राख्ने भएकाले यसलाई अझै विस्तृत रुपमा अगाडि लैजानु आवश्यक छ ।’

क वर्गका लागि कोकोपिट ५ केजी, मल १ बोरा, झारी १ थान, कुटो १ थान, ठूलो ग्रो ब्याग १२ थान र सानो ग्रो ब्याग १२ थान उपलब्ध गराइएको छ भने ख वर्गका लागि कोकोपिट ५ केजी, मल १ बोरा, कुटो १ थान, सानो र ठूलो ग्रो ब्याग १०÷१० थान, ग वर्गका लागि कोकोपिट १ किलो २ सय ग्राम, कुटो १ थान र ग्रो ब्याग ठूलो ५ थान तथा घ वर्गका लागि कुटो १ थान ग्रो ब्याग सानो ५ थान र कोकोपिट ६५० ग्राम उपलब्ध गराइएको वडासचिव देवप्रकाश मुलेलले जानकारी दिए । क वर्गमा १५, ख वर्गमा २७, ग वर्गमा ४८ र घ वर्गमा ८८ वटा कौशीखेतीवाला घरधुरी रहेका छन् ।

वडा नं. ६ का वडाअध्यक्ष जनकबहादुर रावलले वडालाई हरियाली बनाउनमा समेत कौशीखेती कार्यक्रम प्रभावकारी हुने भएकाले आउँदा दिनहरुमा यसको विस्तार र विकासमा वडाले हातेमातो गर्ने बताए । उनले भने, ६ नं. वडा भित्रका वासिन्दाहरुलाई तरकारीमा कोशीखेतीबाटै आत्मनिर्भर बनाउन सकिन्छ त्यसका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्न आवश्यक छ । कौशीखेतीको विकास र विस्तारले वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्ने रावलको भनाई थियो ।

कार्यक्रममा पूर्व वडाअध्यक्ष मोतिप्रसाद कँडेल, वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटा, वडा नं. ६ का जनप्रतिनिधिहरु तथा सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेतलगायतको उपस्थिति रहेको थियो । वडा नं. ६ भित्रका विभिन्न टोलविकास संस्थाहरुसँगको समन्वयन वडा कार्यालयले पटक पटक कोशीखेतीको अनुगमन गर्दै आएको छ ।






