किसान भन्छन् असारको रौनक नै छैन
सुर्खेत ।
असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा चिनिन्छ । भनिन्छ असारमा किसानहरुले खेतमा चुहाएका पसिनाका दानाहरु मंसिरमा धानको रुपमा मोति झै भएर झुल्ने गर्दछन् । हरेक वर्षको असार १५लाई नेपाल सरकारले राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । नेपाल आफैमा कृषिप्रधान देश हो । कृषिप्रधान देश भएर पनि नेपालमा आफैलाई वर्षभरी खान पुग्ने अन्न उत्पादन भने हुँदैन । जसका कारण वर्षौ अर्बौ रुपैयाँ खाद्यन्न आयात गर्नमा खर्च हुने गरेको छ ।

आज असारको १५ सम्ममा झण्डै आधा खेतहरुमा रोपाई भइसक्नु पर्ने हो । तर मौसमी ढिलो भित्रिएको कारण यसपाली सुर्खेत उपत्यकामा बिउ भरखरै हरियो हुने तरखरमा छ । जसले गर्दा रोपाईहरु सुरु नै हुन सकेका छैनन् । दैलेख, जाजरकोट, सल्यानलगायतका जिल्लाहरुमा खोलाको कुलो लाग्ने ठाउँमा भने जेनतेन रोपाईहरु चलिरहेका छन् ।
आखिर कृषिप्रधान देशमा आफैलाई खानका लागि किन अन्न उत्पादन गर्न सकिँदैन त ? निकै गम्भीर प्रश्न नेपाल र नेपालीहरुका माझमा उभिएको छ । दक्ष र योग्य जनशक्ति दिन दुईगुणा रात चौगुणाका दरले खाडि र मलेशिया जानका लागि एअरपोर्टमा हातमा पासपोर्ट लिएर लाइनमा लागिरहेका हुन्छन् । अलिकति पढेलेखेकाहरु कोही जागिरमा त कोही पढाईमै व्यस्त छन् । वास्तवमा भन्ने हो भने खेतमा काम गरिदिने मान्छेहरुको समेत अभाव हुन थालिसकेको छ । अनि कसरी अन्न उत्पादनमा वृद्धि हुन्छ त ?
हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषिमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण । यो त केवल कागजका पानामा लेखिएको नारा मात्र सावित हुने गरेको छ । व्यवहारमा नउतार्ने हो भने जतिसुकै सुन्दर नारा लगाएपनि त्यसले खाँचो टार्ने होइन क्या रे । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् ।
अर्कोतिर हाम्रा रैथाने धानहरु लोपोन्मुख जस्तै भइसकेका छन् । पराईको भरमा परेर र उत्पादनलाई बृद्धि गर्ने नाममा विभिन्न रसायनिक मलहरुको प्रयोग तथा धान जोगाउनका लागि विभिन्न किटनाशक विषादीहरुको प्रयोगका कारण पनि केही वर्ष उत्पादनमा वृद्धि भए झै देखिएपनि पछिल्ला वर्षहरुमा ह्रास आउन थालिसकेको छ । हाम्रारैथाने धानहरु लोपोन्मुख हुनु आफैमा दुःखको कुरा हो । तागमारो, जणन, नल्या, गोपाल, कालोजणन, विन्दाश्वरी, तिल्की जस्ता धानका बिउहरु अहिले खोजेर पाउन समेत मुस्किल हुन थालिसकेको छ । त्यसको संरक्षण र विकासका लागि न सरकारले नै चासो देखाएको छ न अन्य कृषिसँग सम्बन्धित निकायहरुले नै ।
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषि हैन व्यवसायिक कृषि गर्नु आवश्यक छ ।
इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने गर्दथ्यो भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकाले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषिकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् ।
हिउँदे बाली गहुँ फसल भित्र्याउन मात्र होइन किसानले हलोगोरुको विकल्पमा धान रोपांईमा हाते ट्रयाक्टर र फसल भित्र्याउन मेसिनकै प्रयोग गर्न थालेपछि वास्तविक रोपाईको रौनक हराउन थालेको छ । । मेसिनको प्रयोगबाट हल गोरु पाल्नुपर्ने झण्झटबाट मुक्त हुने र न्युन कृषि मजदुरको सहयोगमा छिटो र सहज खेतीपाती हुने सोचले आधुनिक प्रविधि सुरु गरिएको भएपनि खेतमा हल गोरु नारेर गरिने पहिलेको जस्तो रौनक नै नहुने बताउँछन् दैलेख भगवतीमाई ४ का प्रेमबहादुर बुढा ।

दैलेख आफैमा भोगोलिक विकटता भएको ठाउँ भए पनि स–साना हाते ट्याक्टरहरुले खेतमा रोपाई गर्न सकिने भएपछि मान्छेहरु गोरु पाल्न छाड्न थालेका छन् । रोपाईमा विहानै देखिको चटारो हुने र दिउँसो खेतालाहरु एक आपसमा हिलो छ्यापाछ्याप गर्ने अनि रोपारहरु असारे गीत गाउने गर्दथे र रोपाई जस्तो लाग्थ्यो । आजभोली त मेसिन चलेको आवाजले अरु केही सुन्नै दिँदैन बुढाको भनाई छ ।
गाउँका अधिकांश युवा युवती वैदेशिक रोजगारीका लागि खाडी तथा मलेशिया गएपछिे खेतीपातीका बेला कृषि मजदुरको अभाव झेल्नुपर्ने अवस्था छ । मेसिनहरुले गर्दा कृषि मजदुरी अभावको परिपूर्ति त गर्ला तर रैथाने ढंगबाट रोपाईहरु हुन छाडे उनले भने ।
यसैबीच कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा १५ असारमा कर्णाली प्रदेशको जुम्ला बाहेक सबै जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधि राज न्यौपानेले २९ चैत्र २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । जुम्लामा भने चैत १२ मा धान दिवस भनेर बिदा दिने गरिएको छ । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित समाचार ।






