Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

डरलाग्दो तरिकाले फस्टाउँदै देहव्यापार : चौरमा रामलिला जंगलमा रासलिला

क्विक खबर  सम्वाददाता
२०७३ माघ १३

सुर्खेत ।
कुनै समय काठमाडौँको ठमेल भन्ने बित्तिकै मान्छेहरू नाक खुम्च्याउँथे । पर्यटकीय बजारको रूपमा रहेको ठमेल कुनै समय नराम्रोसँग बद्नाम बन्न पुग्यो । पछि विस्तारै त्यो रोग रत्नपार्कमा स¥यो । प्रदेश नं. ६ को सम्भावित राजधानीको रूपमा रहेको सुर्खेतमा त्यही ठमेलको रोग आइपुगेको छ । यहाँ युवायुवतीहरू चौरमा खुल्लमखुला रामलिला देखाउने गर्दछन् भने वीरेन्द्रनगर बजारको नजिकमा रहेका जंगलहरूमा दिनदहाडै रासलिला देखाउने गर्दछन् ।

फाइल फोटो

वीरेन्द्रनगरको खुला मञ्च सभा समारोह गर्नका लागि हो । खुला मञ्चमा सभा समारोह भइरहेका बेला पनि त्यसकै दक्षिणपट्टि रहेको कुइनेपानी संरक्षित वन क्षेत्रमा रामलिला देखाउनेहरूको कमी हुँदैन । … गर्नेलाई भन्दा देख्नेलाई लाज भने झैँ सम्मानीत व्यक्ति, आफन्त वा अझ भनाँै दिदीबहिनी तथा आमाहरूसँग उक्त स्थानहरूको बाटो हिड्नु पर्दा आफै लाजले रातो पिरो हुनु पर्ने अवस्था छ । कुइनेपानी क्षेत्रको पूर्वतर्फको चौरमा हेरिनसक्नुका दृष्यहरू देखिन्छन् ।
काँक्रेविहार पर्यटकीय क्षेत्रको रूपमा प्रख्यात स्थल भएपनि त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरू लगायत वीरेन्द्रनगरका स्थानीयहरू घुम्न जान हिच्किचाउँछन् । कपासे व्यारेक भन्दा माथि सुर्खेत – सुर्खेत सडकखण्डमा खुला रूपमै यौनधन्दा हुने गर्दछ । सुर्खेतलाई चिनाउने चिनारीहरूको पछाडि यी गलत कार्यहरूले कतै सुर्खेतलाई नै बद्नाम त गरिरहेका छैनन् ?
प्रायः युवा अवस्थाका जोडीहरू यस्तो क्रियाकलापमा संलग्न हुने गरेका छन् । पढेर भविश्य निर्माण गर्ने उमेरमा सम्बन्धित अभिभावकहरूको आँखा छलेर यस्तो कार्यमा संलग्न भए भने उनीहरूको भविष्य कस्तो होला भन्ने बारेमा अभिभावकहरूले पनि सोच्नु पर्ने बेला आएको छ ।
पटक पटक स्थानीय संचार माध्यमहरूमा यौन व्यवसायका खबरहरू आइरहँदा स्थानीय प्रशासनले केही होटलहरूमा छापा मार्ने र एक दुई दिन कडाइका साथ हेरे झँै गर्ने अनि फेरी पुरानै अवस्थामा फर्किने गर्दछ । संचारको समेत दुरूपयोग गरेर यस्तो कार्यमा लाग्नेहरूको संख्या ह्वात्तै बढेको छ । प्रदेश नं. ६ को राजधानीको रूपमा विकसित भइरहेको सुर्खेतमा पछिल्लो समयमा हेदव्यापार गर्नेहरु बढ्नुले यसले भविष्यमा डरलाग्दो स्वरूप लिने हो कि भन्ने चिन्ता छ । कतिपय साथीको लहलहैमा लाग्ने र पछि यौन कार्यमा फस्ने गरेको समेत पाइएको छ ।
दिन दहाडै हुने यस्ता गलत कार्यलाई रोक्नका लागि प्रशासनले समेत राम्रो निगरानी गर्न नसकेको व्यापक जनगुनासो बढिरहेको छ ।
वीरेन्द्रनगरको केन्द्र मानिने न्यूरोडमा केही समय अघि महिला समूहले नै देहव्यापार रोक्नका लागि पहल नै चाले । देह व्यापार हुने गरेको थाहा पाएपछि उनीहरूले प्रहरीलाई खबर गर्ने तथा आफैले त्यस्तो कार्यमा संलग्नहरूलाई समातेर प्रहरीलाई बुझाउने समेतका उदाहरणीय कार्य गरे । त्यतिबेला साँच्चिकै सुर्खेत देह व्यापार मुक्त हुन्छ कि भन्ने आशा जागेपनि अन्ततः केही समयको अन्तरालमा पुनः त्यस्ता गलत कार्यहरु दोहोरिने गरेका छन् ।
शारीरिक सम्पर्कबाट हुने विभिन्न रोगहरूले गर्दा हजारौ मान्छेले ज्यान गुमाउनु परेको तथ्याँङ्क विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरिरहेको बेला हामीले हाम्रो समाजमा हुने देह व्यापारलाई समेत नियन्त्रण गर्न सकिरहेका छैनौ । जसको कारण भोलिका दिनहरूमा मानव स्वास्थ्यमा नराम्रो असर पर्ने निश्चित छ ।
प्रेमी प्रेमिकाको रूपमा यसरी दिउँसै वीेरेन्द्रनगर वरीपरीका जंगलहरूमा हुने लगत कार्यले पछिल्लो समयमा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या समेत बढेको छ ।
एकातिर अर्काको देखासिकी अर्कोतिर उमेरमा आउने परिवर्तनसँगै आउने चंचलता यसका कारण छन् भने कतिपय देहव्यापारमा संलग्न महिलाहरू बाध्यताका कारणले देह व्यापारमा लाग्नु परेको बताउछन् । दैनिक विलासिताका बस्तुहरूको आवश्यकता बढ्दै जानु र घरबाट भने जस्तो आर्थिक खर्च पु¥याउन नसक्नुले यस कार्यमा लाग्नेहरू एकातिर छन् भने अर्कोतिर हिजोका दिनमा बालविवाह भएर बच्चा जन्मेपछि श्रीमान् श्रीमती बीचमा भएको मनमुटावको कारण घर छोडेर हिड्नु पर्ने महिलाको बाध्यात्मक अवस्थाका कारण उनीहरू जीवन जिउनकै लागि पनि यस पेशामा फस्न बाध्य भएको बताउँछन् । यसलाई न्यूनिकरण गर्नका लागि बालविवाह, बहुविवाह जस्ता कानून विपरितका कार्यहरु रोक्नका लागि कानूनको समेत कडा पालना गर्नु गराउनु पर्ने देखिन्छ ।
यौन जीवनको अपरिहार्य तत्व भएपनि त्यसलाई असुरक्षित तथा समाज नै लज्जित हुने तरिकाले प्रयोग गर्नु गलत छ, त्यसले समाज र व्यक्तिलाई समेत नराम्रो असर पार्दछ भन्ने खालको सचेतनाका कार्यक्रमहरु बारम्बार गरिरहन आवश्यक छ ।
नाम नबताउने सर्तमा एक होटल व्यावसायीले भने १६ बर्ष माथि उमेर समूहका युवा युवतीहरु मात्र होइन करिब ६० हो हाराहारीमा पुग्नै लागेकाहरु पनि यस पेशामा संलग्न छन् । सार्वजनिक स्थलहरुमा यसरी गरिने गलत कार्यले समाजमा नै नराम्रो असर पर्दछ ।
स्थानीय प्रशासन र सम्बन्धित सरोकारवालाहरूले बेलैमा देह व्यापारलाई रोक्ने पहल गर्न नसकेको खण्डमा यसले प्रदेशकै इज्जतमा दाग लाग्ने पक्का छ ।