Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

वीरेन्द्रचोक भत्काएकोमा विरोध

सुर्खेत — वीरेन्द्रनगनर नगरपालिकाले मुख्यबजारमा रहेको वीरेन्द्रचोक भत्काउन थालेपछि स्थानीयबाट विरोध भएको छ । नगरपालिकाले पूर्वराजा वीरेन्द्रको सालिक रहेको स्थानमा पानीको फोहोरा राख्ने गरी बिहीबार राति चोकमा डोजर लगाएको थियो ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले २०६२/६३ को आन्दोलनमा क्षति पुर्‍याएको वीरेन्द्रको सालिकले नगरको शोभा बिगारेकाले सो ठाउँलाई आकर्षक बनाउने काम थालिएको बताए । ‘भोलि सबैको सहमति भयो भने वीरेन्द्रको सालिक रहन पनि सक्छ,’ उनले भने, ‘हालको डिजाइमा भने सालिक राखिएको छैन ।’

स्थानीय युवाहरु ललित भट्टराई, चिन्तामणि शर्मा लगायतले भने वीरेन्द्रनगरको इतिहास जोगाउन सो स्थानमा वीरेन्द्रकै सालिक राख्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका छन् । ‘वीरेन्द्रनगरको इतिहास नै मेटाउने उद्देश्यसाथ सडक सुरक्षा विपरीत हुन थालेको काम तुरुन्त रोकेर इतिहासको संरक्षण गरियोस्,’ नगरपालिका कार्यालयमा पेश गर्न सुरु गरिएको हस्ताक्षरपत्रमा भनिएको छ, ‘त्यहाँ वीरेन्द्रको सालिकसहित सुन्दर चोक निर्माण गरियोस् ।’