माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशित
भक्तपुर
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा शनिबार (आज) प्रकाशित भएको छ । नतिजा प्रकाशनका लागि दिउँसो तीन बजे बोर्ड बैठक बसेको थियो भने बैठक समाप्त भए लगतै पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।

कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।
शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।
माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।






