धान रोप्दै पूर्व मन्त्री
सुर्खेत, असार १५ ।
पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टलाई विहानै आफ्नो खेतमा देख्दा लेकबेसी नगरपालिका कल्याणका प्रतिमान बाँकावल अलमलमा परे । मध्य असार भएकाले बाँकावल रोपाईको चटारोमा थिए । ‘नेताजी आएपछि कार्यक्रममा जानुपर्ने भयो भन्ने सोच्दै थिएँ’ स्थानीय पार्टी सभापतिसमेत रहेका उनले भने, ‘उहाँ त कोट फुकालेर हिलोमा पस्न थाल्नुभयो ।’ कांग्रेस नेता विष्टले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसेकोसमेत काम गरे ।

करिव पाँच घण्टा रोपाईमा सहभागी बनेका विष्टले अन्य रोपाहारसँगै खेतमै खाना खाए । ‘नेता खेतमा पसेर यसरी धान रोपेको यो पहिलो पटक हो’ बाँकावलले भने, ‘नौलो अनुभूति त भयो नै, कृषिकर्ममा लाग्न प्रेरणा पनि मिल्यो ।’ विष्टसँगै वीरेन्द्रनगरबाट विद्यार्थी नेता यज्ञ रामजाली, स्वास्थ्यकर्मी संघका प्रदेश उपाध्यक्ष तिलबहादुर रानाक्षेत्री पनि सहाभागी थिए । नेता आएर रोपाई गरिरहेको थाहा पाएपछि क्षेत्रीय सचिव भूपेन्द्र सुवेदी, रमेश पौडेल, बलबहादुर खड्का पनि सहभागी बने ।
‘तीन दिनमा सकिने रोपाई एकै दिनमा सकियो’ उनले भने, ‘रोपाहार पनि खोज्नु परेन्, नेता तथा कार्यकर्ताले नै खेत रोपेर सके ।’ विष्टले रोपाईसँगै उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन पनि गरे । उनले कृषि प्रधान देशका नागरिक कृषिकर्ममा लाग्न हिचकिचाई रहेको बताए । ‘पार्टी जनताको दुःख, खुशको साथी हुनुपर्छ’ उनले भने, ‘युवा शक्तिलाई कृषिमा आकर्षित गर्नका लागि आफैबाट सुरुवात गरौं भनेर यहाँ आएको हुँ ।’ उनले संगठन बनाउन र जनताको काममा खटिन उपस्थित नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘तीन वटै तहका सरकारले गरेका कामहरुको निगरानी गर्दै जनताको खुश, दुःखमा साथ दिन र संगठन निर्माणमा लाग्नुहोस्’ कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘जनताको शुख, दुःखको साथी नबन्दासम्म कांग्रेस बलियो हुन सक्दैन् ।’






