हिन्दुराष्ट्रको लागि अन्तिम लडाई शुरु हुन्छ : थापा
सुर्खेत
हिन्दुराष्ट्रको लागि अन्तिम लडाई अब शुरु हुने बताइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा असार १७ र १८ गते हुने राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेको बेलामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले यस्तो बताउनु भएको हो ।

पार्टीको फुटको कारणसँगै जनतालाई हिन्दु राष्ट्रको मुद्दाका बारेमा बुझाउन नसक्नु नै २०७४ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको प्रसंग उठाउँदै निर्वाचनमा भएको हारको कारणले पार्टीका विभिन्न तह र कार्यकर्तामा देखिएको निराशा र विचलनलाई अन्त्य गर्नका लागि पार्टीको संगठन सुधार सहित हिन्दु राष्ट्रको मुद्दालाई शसक्त रुपमा अगाडि बढाउने थापाको भनाई थियो । पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका थापाले आफू परराष्ट्रमन्त्री भएको बेलामा चीनसँग भएका सम्झौताहरु कार्यान्वयन हुने अवस्थामा पुगेकोले खुसी व्यक्त गर्दै वर्तमान सरकारलाई धन्यवाद दिए ।
उनले भने, आगामी असोज मसान्त भित्र देशका ७ सय ५३ वटै स्थानीयतहका गाउँ र वठाहरुमा संगठनका समितिहरु पुर्नगठन गरी माघ मसान्तसम्ममा मेची महाकाली यात्रा गरेर हिन्दुराष्ट्र स्थापनाको लागि अभियान चलाउँछौ । फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि जनता समेत सडकमा उतार्ने उनको भनाई थियो ।

पार्टी एकताको विषयमा संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै थापाले भन्नुभयो, समान विचारधार भएका दलहरुसँग हामी पार्टी एकिकरण गर्छौ । हिजोका दिनमा पनि पार्टी जुट र फुटको कारणले गर्दा सबै पक्षले नराम्रो हार व्यहोर्नु परेको तितो यथार्थ भएकोले अब कहिल्यै नफुट्ने गरी हाम्रो एकिकरण हुन्छ र त्यसको लागि बार्ता समिति समेत गठन भई पहिलो चरणको बार्ता भइसकेको छ । थापाले थपे, वर्तमान संविधानमा ठूला दलहरुले कसैको दबाब र प्रभावमा परेर धर्मनिरपेक्षता लेखे पनि हिजोका दिनदेखि नै हामीले विरोध गर्दै आएका छौ । त्यसकारण अब हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अन्तिम लडाइ लड्ने तयार भइरहेको छ । यसको शुरुवात यही साउन २ गते काठमाडौंबाट हुने थापाले बताउनु भयो ।
युवा भेला तथा प्रशिक्षण कार्यक्रम असार १७ र १८ गते संचालन हुनेछ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देलले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको युवक संगठनकी केन्द्रिय सदस्य सन्तोषि शाहीले बताउनु भयो ।






