विश्वविद्यालय विद्यार्थी आन्दोलन स्थगीत : सत्रबुँदे सहमति पछि तोडियो अनसन
सुर्खेत, २४ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका विद्यार्थी र पदाधिकारीबिच सत्र बुँदे सहमति भएपनि आन्दोलनरत विद्यार्थीहरुले अनशन तोडेका छन् । दुई सातादेखी आन्दोलनरत विद्याथीहरुले पाँच दिनदेखी इन्जिनियरिङ्ग संकायको शैक्षिक सुधारको माग राख्दै आमरण अनशन बसेर आन्दोलन चर्काएका थिए ।

एमयू पदाधिकारी र विद्यार्थीबिच भएको सहमतिमा संकायको विइ हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरेर चौथो समेस्टरबाट लागु गर्ने, उपलव्ध स्रोत साधनको पूर्ण रुपमा प्रयोग गरेर प्रयोगात्मक ल्यावहरुको तीन महिनामा व्यवःथापन गर्ने, केन्द्रीय पुस्तकालयमा रहेका इन्जिनियरिङ्ग संकायका पुस्तकको रेकर्ड राखेर आवश्यक पुस्तकहरुको व्यवस्थापन गर्ने र चालु सेमेस्टरका हरेक विषयको नियमिति व्यवस्थापन गर्न शिक्षकहरुको व्यवस्था गर्दै तालिका बनाएर पठनपाठन प्रभावकारी बनाउने सहमति भएको छ ।
यस्तै, संकायमा अध्ययनरत पिछडिएका क्षेत्र, दुर्गम, महिला, दलित, जनजाती, गरिब तथा जेहेन्दारविद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्न डिनको सयोजकत्वमा दुई सदःयीय समिति गठन गर्ने र संकाय अन्तरगतका कार्यक्रमलाई मुसुम प्रणालीमा सञ्चालन गर्न संकायका डिन डा. गोविन्दप्रसाद लामिछाने संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरेर संकायलाई आत्मनिर्भर बनाएर स्वायत्त बनाउने सहमति समेत भएको छ । सघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले सहमतिपछि अनशनरत विद्यार्थीलाई जुस खुवाएर अनशन ताडेको जानकारी दिए । उनले शैक्षिक सुधारका लागि गरिएको सवै आन्दोलनका कार्यक्रम फिर्ता लिएको समेत बताए ।











