भन्सार राजस्व बिनाको माछा भन्सार हातामै खुलेआम बिक्री
नेपालगन्ज, १६ साउन ।
भारतबाट नेपाल भित्रिने माछा हिजो आज क्वारेन्टाइन कार्यालयको चेकपोष्ट अपायक स्थानमा हुँदा जमुनाहादेखि भन्सार कार्यालयबिचमा भन्सार राजस्व नतिरी माछा कारोबार हुने गरेको छ । भारतबाट आयात हुने माछाको भन्सार राजस्वको हकमा माछा व्यवसायीले छोटी भन्सार कार्यालयमा क्वारेन्टाईन् चेक गराई भन्सार राजस्व बुझाउने प्रावधान भएकाले उक्त क्षेत्रमा माछा बिक्री गर्ने व्यवसायीले भन्सार राजस्व नबुझाउने गरेको स्रोतले बताएको छ । भारतबाट नेपाल भित्रिने माछाको हकमा नगर क्षेत्रमा आउने माछाको लागि क्वारेन्टाइन कार्यालयमा चेकजाँच गराई भन्सार राजस्व बुझाउने तथा उक्त क्षेत्रमा माछा बिक्री वितरण गर्दा भन्सार राजस्व नबुझाउने गरेको बताइएको छ ।भन्सार क्षेत्रको उक्त एरियामा भन्सार राजस्व बिना माछा बिक्री वितरण भइरहेको क्वारेन्टाइन कार्यालयका निमित्त प्रमुख एवम् चेकपोष्टका इन्चार्ज राम सेवक त्रिपाठीले पनि स्वीकार्नु हुन्छ ।
क्वारेन्टाइन चेकपोष्टको लागि भन्सार कार्यालयको छोटी भन्सार कार्यालयमा एउटा स्थान दिनु पर्ने विषयमा भन्सार कार्यालयसँग छलफल भइरहेको निमित्त प्रमुख त्रिपाठीले बताउनु भयो । भारतबाट साइकलमा आयात हुने अधिकांश माछा व्यवसायीले माछाको भन्सार राजस्व तिर्छन की तिर्दैनन् भन्ने विषयमा भन्सार चेकपोष्टमा खटिएका भन्सार कर्मचारी तथा सशस्त्र प्रहरी सुरक्षाकर्मीलाई केही अत्तोपत्तो नै हुँदैन । भन्सार कार्यालयको छोटी भन्सार कार्यालयमा क्वारेन्टाइन चेकपोष्टले चेकजाँच गरी भन्सार राजस्व बुझाउने व्यवस्था मिलाए भन्सार राजस्व संकलनमा मद्दत पुग्ने बताइएको छ। भन्सार राजस्व नबुझाई नेपाली भूमिमा माछाको कारोबार गर्ने अधिकांश व्यवसायीले नगर क्षेत्रमा बिक्री वितरण हुने भन्दा सस्तो हुने भएकाले अधिक परिमाणमा चाहने माछाको लागि भन्सार क्षेत्रमा माछा किन्ने जाने गरेको बताइएको छ । यसका साथै नगर क्षेत्रमा ठेलामा राखिएका माछा पसलेहरुले समेत भन्सारको उक्त क्षेत्रमा माछा खरिद गर्नुको साथै सानो सानो टुक्रा पारी भित्र्याउने गरेको पाइएको छ । सरदर रुपमा नगरमा ठेला लगाई माछो बिक्री गर्नेको संख्या अधिक रहनुको साथै एउटा ठेला व्यापारीले न्यूनतम ३०–४० केजीसम्म माछा खरिद गर्ने गरेको पाइएको छ ।







