Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

दर्जन गजलकारका दुई दर्जन गजलको महायुद्ध हुँदै

१७ भाद्र
सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दर्जन गजलकारका दुई दर्जन गजलको महायुद्ध हुने भएको छ । मध्यपश्चिमाञ्चल गजल मञ्च वीरेन्द्रनगर सुर्खेतले १५३ औं मोती जयन्तिका अवसरमा संस्थाको पाँचौ वार्षिकोत्सव मनाउने क्रममा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा कर्णाली प्रदेशका दर्शन गजलका दुई दर्जन गजलहरु एउटै मञ्चबाट प्रस्तुत हुन लागेका हुन् । गजलकारहरुले यसलाई गजलको महायुद्ध भनेका छन् । मध्यपश्चिम नेपाली गजलको उर्वरभूमिको रुपमा रहेको छ । पछिल्लो समयमा एक भन्दा अर्काको र अर्को भन्दा अझ अर्काको गजल दमदार रुपमा प्रस्तुत भइरहेको अवस्थामा मध्यपश्चिमाञ्चल गजल मञ्चको कर्णाली प्रदेशबाटै केवल एक दर्जन गजलकारहरुका गजलहरु मात्र आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा एउटै मञ्चबाट प्रस्तुत गर्ने जमर्को गरेको हो ।

संस्थाको पाँचौ वार्षिकोत्सवसँगै संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको मोती साधना सम्मान २०७४ बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’ लाई प्रदान गर्न लागेको हो । यसैगरी मध्यपश्चिम गजल सम्मान जाजरकोटका पूर्ण समिर महतारा र दैलेखका निराजन विष्ट ‘दोषी’लाई प्रदान गर्न लागेको संस्थाले जनाएको छ ।

यसैगरी संस्थाको वार्षिकोत्सवको अवसरमा साहित्यकार एवम् चित्रकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनी समेत गरिने भएको छ । मध्यपश्चिममा रहेर चित्रकलाको क्षेत्रमा राष्ट्रियस्तरमै आफ्नो ख्याती कमाईसकेका बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनी कर्णाली प्रदेशको राजधानीमा पहिलो पटक मध्यपश्चिमाञ्चल गजल मञ्चले गर्न लागेको हो ।

यही भाद्र २३ गते सुर्खेतको भ्याली भ्यू कटेजको ठूलो हलमा हुन लागेको उक्त कार्यक्रमको भब्य तयारी भैरहेको कार्यक्रम संयोजक पहल असिमले जानकारी दिनु भयो । यस प्रदेशका गजल हस्तिहरुलाई एकै थलोमा राखेर गजल बाचन गरिने र अग्रज स्रष्टालाई सम्मान समेत गरिने असिमले बताउनु भयो । कर्णाली प्रदेशको राजधानिमा अग्रज र समकालिन गजलकारहरुको जमघट र गजल बाचनले गजल साहित्यको श्रीबृद्धिमा सहयोग पुग्ने मध्यपश्चिमाञ्चल गजल मञ्चले अपेक्षा गरेको छ । कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्ला लगायत ५ नं. प्रदेशका बाँके, बर्दिया, दाङसँगै ७ नं. प्रदेशका अधिकांश जिल्लाका गजलकार एवम् साहित्यकारहरुको उपस्थिति रहने बताइएको छ ।