Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

चिकित्सकहरु अान्दाेलित

सुर्खेत ।

सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघको आयोजनामा आइतबार (आज) सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा पनि ओपीडी सेवा बन्द गरिएको नेपाल चिकित्सक स‌ंघ सुर्खेतका अध्यक्ष डा‍‍. नवराज केसीले जानकारी दिए ।

अस्पतालमा संघको विज्ञप्ती टाँस गरेर ओपीडी सेवा दिन नसकिएको जनाइएको छ । जसका कारण उपचारको लागि आएका विरामीहरु प्रभावित बनेका छन् ।

आन्दोलनका कार्यक्रम अनुसार सोमबारदेखी स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम संघले तय गरेको केसीको भनार्इ छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिनाधरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छ्न ।

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

यसैगरी नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।

संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।

लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले बताए । ‘आज लाइसेन्स बुझाउनेमा संघको १६ वटा शाखामा कार्यरत देशभरीकै करिब छ हजार चिकित्सकहरु रहेका छन् । काठमाडौं बाहिर रहेका चिकित्सकहरुबाट लाइसेन्स आउने क्रम जारी छ’ उनले भने ।

लाइसेन्स बुझाएपछि काउन्सिलले नै यसबारे प्रकि्रया अगाडि बढाउने बताउँदै उनले यसबारे अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिए । ‘हामीले लाइसेन्स बुझाएका छौ । अगाडिको प्रकि्रया उहाँहरुले नै गर्नुहुन्छ ‘ महासचिव कार्कीले भने ।

भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध -संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।

‘चिकित्सकहरुले काउन्सिल समक्ष लाइसेन्स बुझाउनु भएको छ र, हामीले बुझेका पनि छौ । तर त्यसबारे के गर्ने भन्ने छलफल भइसकेको छैन’, काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले भने । विभिन्न समितिहरु बसेर छलफल गरिसकेपछि मात्र यस विषयबारे टुङ्गो लाग्ने भएकोले चिकित्सकहरुले भने आˆनो कामलाई यथावत नै राख्न सक्ने शर्माले बताए ।