राराको आगनमा साहित्यिक तथा सांगीतिक महोत्सव हुँदै
६ असोज, सुर्खेत ।
धर्तीको अप्सराको रुपमा चिनिदै आएको मुगुको रारा तालको आगनमा साहित्यिक तथा सांगीतिक महोत्सव हुने भएको छ । यही कार्तिक १२ र १३ गते अनमोल स्मृति प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुर्खेत शाखाको सहआयोजनामा उक्त महोत्सव हुने भएको हो ।

रारालाई विश्व सामु चिनाउनुका साथै कर्णाली पर्यटन वर्षलाई सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले पत्रकार सम्मेलनमा बताउनु भयो । अध्यक्ष शाहीले भन्नुभयो, रारामा महोत्सव गर्न चुनौती भएपनि चुनौतिसँगै संषर्घ गर्नु गर्दा सफलता प्राप्त गर्न सकिन्छ । राराको आगनमा हुन लागेको महोत्सवको बारेमा जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष शाहीले महोत्सवको बारेमा जानकारी दिँदै भन्नुभयो, महोत्सवमा कवि नवराज पराजुलीका कविता वाचन, कर्णाली प्रदेश लगायत राष्ट्रियस्तरमा चर्चित गजलकारहरु समेतको मेहफिल, देउडा दोहोरी, स्थानीय झाँकी, हुड्के नाचका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमको प्रस्तुती समेत गरिने छ ।

महोत्सवको अर्को रोचक पक्ष भनेको ‘सपनाको गन्तव्य रारा’ नामाकरण गरिएको ३ किलोमिटर लामो म्याराथुन दौड हुने आयोजकले जनाएको छ । साथै महोत्सवका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रारा जाने क्रममा जुम्लामा एक विद्यालयमा शैक्षिक सामग्री वितरणसँगै स्वास्थ्य शिविर समेत संचालन गरिने छ । त्यस कार्यमा सहयोग गर्दै लियो क्लब अफ काठमाडौंले एक पुस्तकालयको स्थापना समेत गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा अनमोल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रमलाई सफल पार्नका लागि झ्याउरे, ख्याली, टप्पा, कौरासँगै लोकदोहोरी समेत प्रस्तुती रहने भएकोले सबैको साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताउँदै सह आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेतका अध्यक्ष उत्तम शर्माले बताउनु भयो ।






