Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

भरतको ‘छाया’ बिमोचित

६ असोज, सुर्खेत ।
उपन्यासकार भरत सुवेदीको उपन्यास ‘छाया’ विमोचन भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यासको विमोचन गर्नु भएको हो । मध्यपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेको उपन्यास विमोचन एवम् रचना वाचन कार्यक्रममा उपन्यासको विमोचन भएको हो ।

प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिँदै साहित्यकार प्रा. खोपीराम लम्सालले उपन्यास विधामा स्वच्छन्दतावादको प्रयोग हुने भएपनि उपन्यासको शीर्षकमा सार हुनु पर्ने बताउनु भयो । ‘अविधा, लक्षणा र व्याञ्जना कुन अर्थमा शीर्षक राखिएको छ भन्ने कुरालाई पाठक तथा समालोचकले छुट्याउनु पर्ने बताउनु भयो ।

सबै पाठकहरुले पठनयोग्य बनाउनका लागि उपन्यासको कथा बस्तु नै प्रमुख हुने बताउँदै उपन्यासले समाज रुपान्तरण गर्न सक्नु पर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘समृद्धिका लागि साहित्यको रचना हुनुपर्दछ ।’ उपन्यासमा सम्वाद हुनु पर्ने जरुरी भएपनि सम्वाद छोरा हुनु पर्ने, उपन्यास लेखनमा भाषा र भाषिकामा ख्याल गर्नु पर्ने उहाँको भनाई थियो । ‘गौण र मूल उद्देश्य बोकेर कृतिहरु आउने गर्दछन्’ प्रा. लम्सालको भनाई थियो ।

No automatic alt text available.
उपन्यास माथि टेकनारायण लम्सालले बोल्नु भएको थियो । उहाँले उपन्यासले दिन खोजेको सन्देश र उपन्यासकारले समेटेका कथावस्तुका बारेमा चर्चा गर्नुभएको थियो । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको उक्त उपन्यास २१६ पेजको छ भने त्यसको मूल्य ४०० रुपैयाँ रहेको छ ।

कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, अछाम, बाँके, बर्दिया, सल्यान, दाङ लगायतका गजलकारहरुले गजल वाचन गर्नुभएको थियो भने कवि कपिलनाथ योगीले कविता वाचन र तेज विक्रम केसीले गेडी समेत वाचन गर्नुभएको थियो ।


कार्यक्रम मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो भने सहजीकरण महासचिव पहल असिम थापाले गर्नु भएको थियो । साथै शब्द स्वागत आयोजक संस्थाका कोषाध्यक्ष खगेन्द्र अटलले गर्नुभएको थियो ।