Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालमा जनकबहादुर

गोविन्द विश्वकर्मा,
सुर्खेत १२ असोज ।

कर्णाली प्रदेशमा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालमा जनकबहादुर सुनार चयन हुनु भएको छ । कर्णाली प्रदेश स्तरीय भेलाले उहाँलाई संयोजकमा चयन गरेको हो । सुनचाँदी व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष जनकबहादुर सुनारको संयोजकत्वमा १७ सदस्यीय प्रादेशिक समिति बिस्तार गरेको छ । समितिमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको छ । सो प्रादेशिक समितिको सदस्यहरुमा सन्तोष कुमार बराइली, मोहन सुनार, दलबहादुर सदाशंकर, सुरेन्द्र बराइली, शिव सेन्चुरी, ईश्वर सुनार, नविन लोहनी, संजिब बराल, बखते सुनार, ओमबहादुर वि.क, दिपक बराइली, सुमन नारायण, रामु विश्वकर्मा, प्रकाश गहतराज, झपेन्द्र गहतराज र चित्र सुनार रहेका छन् ।

सुनचाँदी व्यवसायलाई राष्ट्रिय औद्योगिकरण गर्न आवश्यक : व्यवसायी

‘विश्वकर्माहरुको एकता, सुनचाँदी व्यवसायीहरुमा एकरुपता, राष्ट्र निर्माणमा हाम्रो सहभागिता’ भन्ने नाराका साथ विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले कर्णाली प्रदेशमा एक भेलाको आयोजना गरेको थियो ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष डम्बर सुनारको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा सुर्खेतका अग्रज व्यवसायी बाबुराम गहतराजले यस पेशालाई मर्यादित, सम्मानित, व्यवसायिक बनाएर अघि बढ्न सबैलाई आग्रह गरे । उनले विश्वकर्मा सुनचाँदी व्यवसायीलाई दिगो रुपमा अग्रपंक्तिमा राख्न समेत अनुरोध गरे ।

कार्यक्रममा सञ्जालका परिकल्पनाकार विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका संयोजक अर्जुन रसाईलीले सबै विश्वकर्मा सुनचाँदी व्यवसायीहरुको समस्या समाधानका लागि अभियानमा रहेको सञ्जाललाई विभिन्न मिडियाहरुले गरेको नकारात्मक टिप्पणी प्रति खेद प्रकट गरेका छन् । उनले बास्तविक बुझेरमात्रै कलम चलाउन सबै सञ्चारमाध्यमलाई ध्यानाकर्षण गरे । अब सञ्जालले व्यवसायलाई राष्ट्रियकरण गरेर सम्मान जनक कारोबार गर्न मिल्ने वातावरण निर्माण गर्ने संयोजक रसाईलीले धारणा राखे ।
सञ्जालका सह–संयोजक प्रकाश गहतराजले सुनचाँदी व्यवसायको सुरक्षा व्यवस्थापन सहजै रुपमा हुने अवस्था नदेखिएकोले सचेतना र एकता गर्दै हिडेको बताएका छन् । उनले यो व्यवसाय गरे वापत वर्षौ वर्ष अपमानित भएर बसेपनि अब कोही पनि अपमानित भएर बस्न नपर्ने बताए ।

सञ्जालको आवश्यकता र यसले गरेको गतिबिधि बारे सदस्य सचिव टुलकप्रसाद विश्वकर्माले विस्तापित हुन गइरहेको ८० प्रतिशत व्यवसायीलाई स्थापित गर्न विश्वकर्मा सञ्जाल वृहत भूमिका निर्वाह गर्ने बताए ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष जनक सुनारले स्वागत मन्तव्य राखेका थिए भने दैलेख सुनचाँदी व्यवसायी संघका अध्यक्ष खगिराज विश्वकर्माले आफ्नो धारणाहरु राखेका थिए । यसैगरी सुनचाँदी व्यवसायी संघ सुर्खेतको व्यवस्थापनमा आयोजना भएको भेलामा सहभागीहरुले सुनचाँदी व्यवसायलाई राष्ट्रिय औद्योगिकरण गर्नुपर्नेमा जोड दिए ।