Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

शहिदका सपना कहिले साकार हुन्छन् ?

इतिहास जित्नेहरूकै लेखिन्छ । हार्नेहरूको इतिहास लेखिने भएको भए पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दाका बखतमा हारेकाहरू आज पनि पृथ्वीनारायण जत्तिकै प्रख्यात हुने थिए । नेपाली इतिहासलाई हेर्ने हो भने विभिन्न कालखण्डमा सत्ता र शक्तिका लागि भएका आन्दोलनहरू जित्नेहरूकै पक्षमा लेखिएका छन् । गोपाल वंशलाई हराएर महिषपाल वंशकाहरू आफू राजा भए र नेपालमा शासन गर्न थाले । तत्कालिन अवस्थामा अविकसितता भित्रको कठीनाईको फाइदा उठाउँदै एकले अर्कोलाई हराउने खेलको शुरूवात त्यत्तिबेला देखि नै शुरू भएको हो । हारेकाहरूको तर्फबाट लड्नेहरू इतिहासका पानामा समेत अटाउन सक्दैनन् । यो दुःखद पक्ष हो ।


पृथ्वीनारायण शाहले गरेको एकिकरणको युद्ध पश्चात पनि देशमा विभिन्न युद्धहरू भए । तिनै युद्धहरूबाट भएका प्राप्तिहरूबाट बाइसे चौबिसे राज्यहरू विलिन भए र बन्यो सिंगो नेपाल । सिंगो नेपालको निर्माण भइसकेपछि आफू कसरी सत्तामा पुग्ने भन्ने मनोकांक्षाका कारणले नै नेपालमा भण्डारखाल पर्व, कोतपर्व जस्ता घटनाहरू भए । जसले गर्दा देशमा राणा शासन जस्तो जहानियाँ शासनको शुरूवात भयो । तर पनि विश्व शैक्षिक जगतमा अगाडि बढिरहँदा नेपालमा पनि त्यसको प्रभाव प¥यो । जसको कारण राणा शासनको विरूद्धमा जनताबाटै आवाजहरू उठ्न थाले ।

राणा शासनको अन्त्यको लागि भएको आन्दोलनमा धेरै नेपालीहरूले रगतको खोलो बगाउने परेको इतिहास साँक्षी छ । त्यसपछि देशमा उदय भएको प्रजातन्त्र बलियो हुन सकेन् । युवा अवस्थामा पुग्न नसकेको प्रजातन्त्रलाई बाल्यावस्थामै हत्याको कोसिस गरियो । जसका कारण पञ्चायतको शुरूवात भयो । पञ्चायतकालमा राजाहरूले आफ्नो प्रभाव पारे । उनीहरूले जनताका केही अधिकारहरू आफैमा राखेर आफ्नो पक्षमा हुने कार्यमा बढि जोड दिए । राजाको गुणगान गाउनेहरू राजाको नजिक हुने मौका पाए । जसले गर्दा बाठाटाँठाहरूले मौकाको फाइदा लिने र पदको दुरूपयोग गर्ने गरे । त्यसको विरूद्धमा जनताहरू फेरि जागे । जसको फलस्वरूप २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भयो । प्रजातन्त्रको पुर्नस्थापना हुँदा पनि धेरैले रगतको खोलो बगाउनु प¥यो । तत्कालिन राजा वीरेन्द्रको उदारवाद र जनता प्रतिको प्रेमको कारण अझ त्यत्ति धेरै क्षति हुन पाएन । राजा वीरेन्द्रले सहज रूपमै जनताले चाहेको राजनीतिक व्यवस्था दिनु पर्छ भन्ने मान्यता राखेर सहजै प्रजातन्त्रको घोषणा गर्नु भनेको देशमा जिउ धनको क्षति हुनबाट रोक्नु हो । त्यसैले जीवनको अन्त्यकालसम्म पनि राजा वीरेन्द्र नेपाली जनताका माझमा लोकप्रिय रहे । उनको दुःखद मृत्युवरणको कारणले मृत्युपश्चात झनै लोकप्रियता कमाउने एक मात्र राजा वीरेन्द्र हुन भन्दा अतियुक्ती नहोला ।

राजा वीरेन्द्रको देहवासन भएपछि ज्ञानेन्द्रले गरेको शासन काल त्यत्ति सहज भने हुन सकेन । हुन त जीवनमा दुई ÷ दुई पटक राजा हुने मौका पाएका एक मात्र भाग्यमानी व्यक्ति ज्ञानेन्द्र नै हुन् । तर पनि उनकै पालामा शाह वंशीय राजसत्ता पाखा लाग्न पुग्यो । राजाको शासनसत्ताबाट असन्तुष्टि बन्नेमा नेपाली जनता भन्दा पनि शासन सत्तामा पुग्ने र आफ्नो हालीमुहाली गर्ने नेताहरू थिए । जसका कारण नेताहरूले जनतालाई उक्साए र फेरि अर्को आन्दोलन भयो । जुन आन्दोलनमा पनि नेपालीहरूको रगत बग्यो नै ।

उक्त आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरूलाई संस्थागत रूपमा विकास गर्नुको साटो नेताले आफ्नो अनुकूलको शासन सत्ता संचालन गर्ने जमर्को गरे । देशलाई संघीय संरचनामा लैजाने क्रममा तत्कालिन मध्यपश्चिमका बाँके र बर्दिया बाहेक अरू जिल्लाहरूलाई सुदुरपश्चिममा गाभ्ने कार्य भयो । जसका विरूद्धमा मध्यपश्चिममा आन्दोलन शुरूवात भयो । जुन आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिं रजवार र टीकाराम गौतम तथा जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाउनु प¥यो । छुट्टै प्रदेशको स्थापनाको माग गर्दै भएको आन्दोलनको उपलब्धीको रूपमा वर्तमानको कर्णाली प्रदेशको स्थापना त भयो । तर समृद्धिको नारा केवल नारामै मात्र सिमित रहने सम्भावनाले अहिले पनि नेपाली जनतालाई पिरोली रहेको छ ।

प्रदेश आन्दोलनमा यामबहादुर बिसी, गोपालसिं रजवार र टीकाराम गौतम तथा जुम्लाका हरिबहादुर कुँवरले केवल सांसद हुन, मन्त्री हुन र जनताले तिरेको करमाथि मोजमस्ती गर्नका लागि आफ्नो रगत बगाएका थिएनन् । उनीहरूले देखेको सपना के थियो र त्यसलाई कसरी साकार बनाउन सकिन्छ भन्ने बारेमा कर्णाली प्रदेश सरकारले गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको छ । संघीय सरकारले केवल शहिदको दर्जा दिएर मात्र पुग्दैन । शहिदले देखेको सपनालाई साकार पार्न शहिदप्रति गरिने सम्मान र व्यवहार नै परिवर्तन गर्न जरूरी छ । जबसम्म राजनैतिक चरित्रमा नैतिक शिक्षाको प्रयोग हुँदैन तबसम्म शहिदहरूले देखेको सपना पूरा हुनेमा नेपाली जनताले शंका गर्नु स्वभाविक ठहर्छ ।

अहिले दुई तिहाइको सरकार छ । नेपाली जनताले ठूलो विश्वास गरेर वर्तमानको नेकपालाई दुई तिहाइ मतदान गरेका हुन् । शहिदहरूले समृद्ध नेपालको सपना देखेका थिए त्यसलाई अहिलेको जस्तो शक्तिशाली सरकारले पूरा गर्न सकेन भने फेरि एक पटक इतिहास दोहोरिन सक्छ र हुन सक्छ अर्को आन्दोलन । जनताले दिएको मतलाई सम्मान गरेर शहिदले देखेको सपना पूरा गर्नका लागि सरकारले कुनै कुरामा पनि सम्झौता नगरोस् ।

यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।