Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

१२ वर्षपछि धर्मनिरपेक्षतामा काँग्रेस व्याक

काठमाडौं, ९ मंसिर ।
पहिलो संविधानसभामा धर्मनिरपेक्षताको पक्षमा उभिएको कांग्रेस १२ बर्षपछि व्याक हुने निश्चित जस्तै भएको छ । केही समयपछि बस्ने नेपाली कांग्रेसको महासमिति सदस्यहरूको भेलाले धर्मनिरपेक्षताविरुद्ध हिन्दु राष्ट्र पारित गरि चुनावी राजनीति थाल्ने तयारी भइरहेको काँग्रेस निकटहरुले नै बताउन थालेका छन् ।


स्व. नेता खुमबहादुर खड्काले वकालत गरिरहेको हिन्दु राष्ट्र कायम गर्ने यस मुद्दालाई कांग्रेसका प्रभावशाली नेता विश्वेश्वर प्रसाद कोइरालाका पुत्र तथा महामन्त्री डा. शशांक कोइरालाले महासमितिमा लैजानेछन् । उनले यसअघि पनि हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आएका थिए । कांग्रेस संस्थापन पनि यस मुद्दामा सकारात्मक छ भने बहुसंख्यक महासमिति सदस्यले हिन्दु राष्ट्रका पक्षमा यसअघि नै अभिमत पारित गर्ने तयारी गरेका थिए ।

केन्द्रीय समितिको बैठक चलिरहेका बेला खड्काको निधन भएपछि कांग्रेस महासमिति सरेको थियो भने मुद्दाका विषयमा समेत छलफल हुन सकेको थिएन । कांग्रेस महासमितिले यस्तो निर्णय गरे ०६४ मा बहुमतले धर्मनिरपेक्षता पारित गराउन सफल तत्कालिन माओवादी तथा अहिलेको नेपाल कम्युनिस्ट पार्टीलाई झड्का लाग्नेछ । सानो दल राप्रपासहितका केही शक्तिले मात्र हिन्दु राज्यको बारेमा कुरा गर्दा संसदमा धर्मनिरपेक्षताका पक्षधरहरू बलिया देखिन्थे । अब, मुख्य प्रतिपक्षी दल नै हिन्दुवादी कित्तामा उभिए पनि कम्युनिस्टको मुख्य मुद्दा सकसमा पर्नेछ भने राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्रको मुद्दा झनै बलियो भएर जाने निश्चित जस्तै भएको छ । यसले गर्दा राप्रपा र हिन्दुवादी दलहरु पनि बलिया हुँदै जानेछन् ।

सभापति देउवा निकटका नेता तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले महासमितिमा उक्त विषयले प्रवेश पाउने बताए । उनी पनि त्यस विषयमा सकारात्मक रहेका छन् । कांग्रेसमा केहीबाहेक बहुमत केन्द्रीय सदस्यहरू हिन्दु राष्ट्रका पक्षमा नै उभिएका छन् ।

कांग्रेसले यस विषयलाई पारित गरे सरकारसँग जनमत संग्रहको माग पनि गर्नेछ । पार्टीको लाइनअनुसार धर्म्निरपेक्षता स्वीकार गरे पनि बहुसंख्यक कम्युनिस्ट हिन्दुले पनि जनमत संग्रहमा धर्म्निरपेक्षताविरुद्ध मतदान गर्ने रूझान सामान्य अनुमान बनिसकेको छ ।

डा. कोइराला भन्छन,‘हाम्रो धर्म–संस्कृतिमाथि बाहिरबाट व्यापक दबाब बढ्यो, धर्मान्तरण गर्ने अभियान नै चल्यो भनेर सर्वत्र कुरा उठिरहेको छ । पार्टीमा कतिपयले उठाइरहेको यो विषय महासमितिमा समेत उठ्न सक्छ ।’

कोइराला परिवारका अर्का सदस्य कांग्रेस नेता शेखर कोइरालाले समेत धर्मका नाममा विदेशी चलखेल बढेको भन्दै आफूलाई हिन्दू राष्ट्रकै पक्षमा प्रस्तुत गरेको पाइन्छ । धर्म निरपेक्षताको पक्षमा तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला उभिएका कारण कांग्रेसले त्यसैमा मतदान गरेपछि मुलुक हिन्दु राष्ट्रको परिचयबाट विमुख भएको थियो ।