Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

वस्तुगत समितिका अध्यक्षहरु भन्छन् : उबासंघको नयाँ कार्यसमिति सर्वसम्मत होस्

मंसिर २३ सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतका वस्तुगत समितिका अध्यक्षहरुले संस्थाको आगामी निर्वाचनबाट आउने नयाँ कार्यसमिति सर्वसम्मत रुपमा आउन सक्नु पर्ने बताएका छन् । वीरेन्द्रनगरमा आज रफत संचार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित वस्तुगत समितिका अध्यक्षहरुले यस्तो बताएका हुन् । यही मंसिर २९ गते शनिबारका लागि संघको निर्वाचन मिति तय गरिएको हो । संघले मंगलबार मतदाता नामावली निर्वाचन कार्यालयलाई उपलब्ध गराउने योजना गरेको छ । मतदाता नामावलीको टुङ्गोसँगै मनोनयन दर्ता प्रक्रिया अघि बढ्ने संघले जनाएको छ ।


मतदाता नामावलीको टुङ्गो अघि नै सुर्खेत उद्योग वाणिज्य संघमा नयाँ कार्यसमितिका लागि गुट–उपगुटमा चर्चा भइरहेको बेलामा वस्तुगत समितिका अध्यक्षहरुले व्यापारीको हक हितका लागि काम गर्नका लागि उद्योग वाणिज्य संघ तयार छ भने नयाँ कार्य समिति चयन प्रक्रियामा राजनीतिक दलगत भन्दा पनि व्यापारीका समस्या समाधान हुने गरी समिति चयन गनु पर्नेमा जोड दिएका छन् । यसरी सर्वसम्मत ढंगबाट नयाँ कार्य समितिको चयन हुन सकेको खण्डमा उद्योग बाणिज्य संघ सबैको हुने र सबैले अपनत्व प्राप्त गर्न सक्ने वातावरणको सिर्जना हुने बताइएको छ ।

यस भन्दा पहिलेका पहिलेका चुनावमा राजनीतिक दल र दल भित्रकै गुटको निर्माण गरी चिर्वाचनमा जाने र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल समेत हुने गरेकोले त्यसले व्यापारीको हित नहुने भन्दै सर्वसम्मत रुपमा समितिको चयन गर्न वस्तुगत समितिले आग्रह गरेका हुन् । रफत सञ्चार क्लवको आयोजनामा सुर्खेतका व्यापारी लगायतसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका बस्तुगत समितिहरुले यसपालिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नुपर्ने माग राखेका थिए । संघ अन्र्तगतका इलेक्ट्रोनिक बस्तुगत समिति, लिकर्स एसोसियसन, काँचो कपडा बस्तुगत समिति, क्यान बस्तुगत समिति, होटल व्यावसायी बस्तुगत समिति, तरकारी तथा फलफुल बस्तुगत समितिलगायतले यस्तो माग गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सुर्खेत उद्योग बाणिज्य संघका पूर्व महासचिव मदन खड्काले उद्योग बाणिज्य संघलाई सबैको अभिभावक संस्था बनाउने हो विगतका कमी कमजोरीहरु सच्याएर सर्वसम्मत रुपमा अघि बढ्नु पर्ने बताउनु भयो । यस संस्थाले व्यापारीहरुका हक हितका लागि कार्य गर्नु पर्ने भएकोले यसलाई कुनै पनि राजनीतिक पार्टीको भातृसंगठनको रुपमा हेरिनु नहुने उहाँको भनाई थियो । विगतमा समेत यस संस्थाको महासचिव भइ कार्य संचालन गरिसकेको अनुभव सुनाउँदै खड्काले भन्नुभयो, ‘यदि संस्थालाई साँच्चिकै लक्ष्य र उद्देश्य अनुसार संचालन गर्ने हो भने यसमा राजनीतिक दलका नेताहरु भन्दा पनि व्यावसायी नेताहरुले पहल कदमी चाल्नु पर्छ ।’

उद्योग बाणिज्य संघले सुर्खेतका सम्पूर्ण व्यावसायीलाई समेटेर लैजानुपर्ने धारणा राख्दै काँचो कपडा बस्तुगत समितिका अध्यक्ष केशव ज्ञवालीले अघिल्ला कार्यसमिति पार्टीगत तवरले निर्वाचनमा आउँदा व्यावसायीको हकहितमा प्रभावकारी कार्य गर्न नसकेको आरोप समेत लगाउनु भयो । व्यावसायलाई नै पार्टी सोचेर अघि बढ्दा संघका नयाँ पदाधिकारीले व्यावसायीको हक हितका लागि योजना ल्याउन नसक्ने उहाँको धारणा थियो । व्यावसायिक हक हितको लागि योजना ल्याउनेलाई सर्वसम्मत चयन गरिनुपर्ने उहाँले बताउनु भयो ।

यसैगरी क्यान बस्तुगत समितिका अध्यक्ष पुर्णदेव अधिकारीले राजनैतिक आस्थाभन्दा माथी उठेर व्यावसायीक आस्थाले संघले पूर्णता पाउने धारणा व्यक्त गर्नुभयो । संघलाई पार्टीको रुपमा बिकास गरिदा व्यावसायिक हक–अधिकार कुण्ठित हुने बताउँदै उहाँले सर्वसम्मत रुपमा नयाँ पदाधिकारीको चयन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबै पक्षिय नेतृत्वको आवश्यकता रहेको व्यावसायीले महशुस गरिरहेका छन् । संघलाई सबै व्यावसायीको साझा संस्थाको रुपमा बिकास गरिनुपर्छ ।’ सबै क्षेत्रका व्यावसायीहरुलाई सम्मेलित गराउँदा संघ बलियो हुने र साझा संस्थाको रुपका बिकास हुने उहाँको धारणा थियो ।

होटल व्यावसाय बस्तुगत समितिका अध्यक्ष गोरख रावलले भन्नुभयो, ‘कुन ठाउँमा कति राजनीति गर्ने भन्ने पनि हुन्छ । व्यावसायीहरुको छाता संगठनमा बिगत केहि समययता भित्रिएको राजनीतिले संघलाई कमजोर बनाएको छ ।’ सुर्खेतका व्यावसायी आफै सक्षम नभएको बताउँदै उहाँले साझा उमेद्वारको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भिजन भएको साझा उमेद्वार सर्वसम्मत चयन हुनुपर्छ ।’