जहाज दुर्घटनाको प्रतिवेदन बुझाइयो
पौष ७ काठमाण्डौ ।
निजी वायुसेवा कम्पनी मकालु एयरको कार्गो बोकेको एउटा जहाज गत जेठ २ गते हुम्ला सिमिकोटमा भएको दुर्घटनासम्बन्धी जाँच गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
चार सदस्यीय दुर्घटना जाँच आयोगका संयोजक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भने गरिएको छैन । यसका लागि थप ६० दिन लाग्ने पर्यटन मन्त्रालयको भनाइ छ ।
सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे करिब १ हजार १ सय किलो खाद्यान्न बोकेर सिमिकोटका लागि उडेको ‘सिंगल इन्जिन’ जडित जहाज १५ मिनेटमै सम्पर्क्बिहीन भएको थियो । जहाज बिहान ६ः५५ बजे सिमिकोट विमानस्थलमा अवतरण गर्नुपर्ने तालिका थियो ।
दर्ता नम्बर ‘९एन–एजेयु’ भएको ‘सेस्ना२०८बी’ सिरिजको उक्त जहाजलाई क्याप्टेन किरण भट्टराई र कोपाइलट आदित्य नेपालीले उडाएका थिए । दुर्घटनामा दुवैजनाको मृत्यु भएको थियो । क्याप्टेन भट्टराईसँग ७ हजार घन्टाभन्दा बढी जहाज उडाएको अनुभव थियो भने कोपाइलट नेपालीसँग २ हजार २ सय घन्टाको उडान अनुभव थियो ।
दुर्घटना जाँचका क्रममा आयोगका सदस्यले दुर्घटनास्थलको स्थलगत भ्रमण, सम्बद्ध व्यक्ति÷संस्था तथा पदाधिकारीसँग छलफल एवं अन्तर्वार्ता, सम्बन्धित कागजात÷म्यानुअल अध्ययन, चालकदलको मेडिकल÷प्याथोलोजिकल प्रतिवेदन तथा मानवीय कारणसँग जोडिएका सामाजिक–आर्थिक पक्षको अध्ययन गरेको थियो । आयोगले दुर्घटनाग्रस्त जहाजको इन्जिन परीक्षणका लागि इन्जिन निर्माता कम्पनी क्यानडास्थित ‘प्राट एन्ड ह्विट्नी’ पठाएको थियो ।
पर्यटन मन्त्रालयका अनुसार दुर्घटना जाँच आयोगबाट प्राप्त प्रतिवेदन अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट जारी भएको ‘एन्नेक्स १३’ मा भएको प्रावधानअनुसार उक्त मस्यौदा प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको म्याद दिई पठाइने तथा उक्त अवधिपछि प्राप्त राय–सुझावसमेतका आधारमा विश्लेषण गरी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिई सार्वजनिक गरिने छ ।






