Loading... आजः १४ भाद्र २०८३, आईतवार । Sunday 30th August 2026

धार्मिक महोत्सव २०७५ : सचिवालय स्थापना

माघ ८ सुर्खेत ।

‘पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महोत्सव २०७५’ लाई भव्य रुपमा सञ्चालन गर्नका लागि विद्यापुर बजारमा सोमबार सचिवालय स्थापना गरिएको छ । सचिवालयको प्रमुख अतिथि तथा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी र मुल आयोजक समितिका संयोजक वसन्तकुमार थापाले सचिवालयको ब्यानर अनावरण गर्दै सचिवालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रेग्मीले महोत्सव सञ्चालनका लागि नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट गरिने सबै प्रकारका सहयोगमा कुनै कमी हुन नदिने बताउनु भयो । समाजसेवी तथा शिक्षाप्रेमी हेमप्रकाश भूसालले हामी सबैले आँट गरेमा जे काम गर्न पनि सम्भव हुने बताउँदै मरेर लाने केही नभएर जे गर्न सकिन्छ सामाजिक क्रियाकलापमा सबै मिलेर महोत्सवलाई सम्पन्न गर्न सकिनेमा जोड दिनुभयो । साथै उँहाले समाजमा ठूलो काम गर्नका लागि राजनीतिक आग्रह र पूर्वाग्रहमा कोही पनि नलाग्न समेत भूसालले सबैलाई आग्रह गर्नुभयो ।

पञ्चपुरी नगरपालिका वडा नं. ८ र ९ का वडा अध्यक्षद्वयले विद्यापुरमा हुन लागेको शैक्षिक एवम् धार्मिक महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आ–आफ्नो वडाले सकेसम्म सहयोग गर्ने बताउनुभयो । मुल आयोजक समितिका अध्यक्ष वसन्त कुमार थापाले विद्यापुरलाई शैक्षिक क्षेत्रको हब बनाउनका लागि आफूले विगतमा गरेको योगदानको स्मरण गर्दै अब पनि विद्यापुरलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । महोत्सव सञ्चालनका लागि वसन्तकुमार थापाको अध्यक्षतामा पाँच सय एक सदस्यीय मूल आयोजक समिति, हेमप्रकाश भूसालको अध्यक्षतामा ५१ सदस्यीय सल्लाहकार समिति र वसन्तकुमार थापा कै अध्यक्षतामा १९ सदस्यीय सचिवालय गठन गरिएको मिडिया संयोजक त्रिभुवन बिसीले जानकारी दिनुभयो । ‘पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महोत्सव २०७५’ फागुन २४ देखि चैत्र १ गते सम्म विद्यापुर बजारमा सञ्चालन हुनेछ ।