Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी

२३ माघ, काठमाडौं ।
वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी परेको छ । नियतवश वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी उपन्यास लेखिएकोे दाबी उजुरीकर्ताको छ ।

महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकारीका अनुसार प्रतिक्षाविरुद्ध केही दिनअघि उजुरी परेलगत्तै प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, उनी हालसम्म प्रहरी कार्यालयमा उपस्थित भएकी छैनन् ।

उपन्यासमा उल्लेख भएको पात्रसँग नाम मिल्ने महिलाले दिएको उजुरीमा भनिएको छ, ‘एक जना/दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४/५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस पुर्‍याएको छ ।’

उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

प्रहरीमा उजुरी परेपछि उपन्यकार प्रतिक्षाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एनजीओहरुले समुदायका केही व्यक्तिलाई उचालेर आफूलाई खेद्न खोजेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि जिते पनि मभित्रको लेखक कहिल्यै डग्मगाउँदैन ।’

उनले आफूले ३० को दशकको कथा लेखको दाबी गर्दै ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग नाम जुधेकाले बेइज्जती भयो भनेर प्रहरीमा उजुरी दिएको पनि उल्लेख गरेकी छन् ।